दार्चुला। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गरिने बताएका छन्।
दार्चुला सदरमुकामको महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीसँग गरिएको अन्तक्र्रियामा मुख्यमन्त्री शाहले विगतका कमजोरी सच्याएर योजना छनोट तथा बजेट विनियोजन गरिने बताए। मुख्यमन्त्री शाहले भने, ‘प्रक्रिया मिचेर आएका योजना अबका दिनमा कार्यान्वयन हुने छैनन् ।
पहुँचका आधारमा आएका योजनामा अनियमितताको कुरा सुनिएको छ, यो कुरालाई प्रदेश सरकारले पूर्णरूपमा निरुत्साहित गर्नेछ।’ कार्यक्रमका अधिकांश सहभागीले प्रदेशका योजना पहुँचको भरमा आउने र योजना पार्न कमिसन(प्रीपेड) दिनुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिएका थिए।
कर्मचारी अभावको समस्या समाधानका लागि लोकसेवा आयोगले काम गरिरहेको उनले बताए। दार्चुलाको समस्याबारे आफू जानकार रहेको बताउँदै उहाँले प्रमुख समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा दार्चुलाबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य विक्रमसिंह धामी, लक्ष्मी विक, प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलगायतको सहभागिता थियो ।

