धनगढी। सुदूरपश्चिम सरकार बनेको ३ महिना पूरा भएको छ। प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो मुख्यमन्त्री बनेका राजेन्द्र सिँह रावल पुष २७ गते नियुक्त भएका थिए।
त्यसपछि एक महिनामा रावल नेतृत्वको सरकारले बिश्वासको मत नपाएपछि प्रदेश सभाको ठुलो दलको हैसियतले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत माघ २६ गते मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए।
माघ २७ गते मुख्यमन्त्री शाह सँगै काँग्रेसकै प्रकाश देउवा भौतिक पुर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेश कुमार शाहीले अर्थमन्त्रीको सपथ लिए। तर मुख्यमन्त्री नियुक्त भएको दुई महिना पूरा हुँदा समेत सरकार विस्तार हुन सकेको छैन ।मुख्यमन्त्रीमा नियुक्त भएको २ महिनासम्म पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारलाई पूर्णता दिन नसकेका हुन् ।
यस प्रदेशको सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अहिले मन्त्री विहीन छन् भने सदन समेत चल्न सकेको छैन । चार महत्त्वपूर्ण मन्त्रालयमा सरकार गठन भएको २ महिना सम्म पनि मन्त्री नियुक्त गर्न असफल भएका मुख्यमन्त्री शाह अहिले कार्यक्रम उद्घाटन, शीर्ष नेता धाउन काठमाडौँ र बधाई, टिका, सम्मान अनि साना तिना योजना उद्घाटन तथा शिलान्यास गर्न प्रदेशका बिभिन्न जिल्लामा धाइरहेका छन् ।
मुख्यमन्त्री शाह सरकार विस्तार तथा सरकारले गर्नपर्ने महत्वपूर्ण काम भम्दा पनि साना तिना अल्झनमै अड्किएको भन्दै सत्ता पक्षिय सांसद नै सन्तुस्ट छैनन् । अहिलेका गठबन्धनमा रहेका दलहरुको सत्ता स्वार्थका कारण सरकार विस्तार हुन नसकेको बताइन्छ । बजेट निर्माण गर्नुपर्ने, संसदबाट विभिन्न ऐनहरू पारित गराउनु पर्नेे, जनताका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बेलामा सरकार पनि विस्तार गर्न नसक्ने र सदन पनि चलाउन नसकने भएको छ ।
खालि दिनभरी सामान्य कार्यक्रम उद्घाटन गर्नबाहेक मुख्यमनत्रीले कुनै काम गर्न नसक्नुले सुदुरपश्चिम थप ५ वर्ष पछाडि धकेलिने एमाले नेता तथा प्रदेश सभा सदस्य बिर बहादुर थापा (पातल)ले बताए । प्रदेशको समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल-बहस हुनपर्नेमा सरकारका कारणले संसदलाई नै कामविहीन बनाएको एमाले सांसदहरू बताउँछन् । बेलैमा सरकार बिस्तार गर्न नसक्नु सत्ता गठबन्धनको असफलता मात्रै नभई नालायकीपन समेत भएको एमालेको आरोप छ ।
सबै दलहरुको भाग हिस्सा मिलाउनुपर्ने भएकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको र यसमा मुख्यमन्त्री मात्र दोषाी नभएर मन्त्री माग्न जाने सबै सांसद दोषी भएको कांग्रेस नेता तथा प्रदेश ससभा सदस्य बिक्रम सिंह धामीले मुख्यमन्त्रीको बचाउ गरे ।सरकार विस्तार नहुँदा अहिले मन्त्रमलय सुनसानजस्तै बनेका छन् । मन्त्रालयमा न त कुनै कर्मचारी नै भेटिन्छन्, न त कुनै काम प्रभावकारी रुपमा हुन सकेका छन् । केही दिनअघि मात्र मुख्यमन्त्री शाह अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यालय उद्घाटन गर्नसमेत पुगे । उनीसँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा पनि अछाम पुगेका थिए । अहिले पनि भौतिक पुर्वाधार मन्त्री देउवा र अर्थ मन्त्री नरेश कुमार शाही काठमाडौं छन् । मुख्यमन्त्री शाह विभिन्न कार्यक्रम भन्दै धनगढी बाहिर हुने गरेका छन्।


