धनगढी : सफा र स्वच्छ शहरका लागी प्लास्टिक मुक्त उपमहानगर घोषणा गरेको धनगढीले कपडाका फाइबर झोला उत्पादनमा जोड दिएको छ । प्लास्टिकको बिकल्पमा कपडाका झोला उत्पादनलाई प्रार्थमिकता दिएको उप महानगरले अभियानलाई सफलता दिनुका साथै महिलाहरुलाई आत्मनिर्भरपनि बनाइरहेको छ ।
धनगढीलाई सफा र स्वच्छ शहर बनाउने उद्देश्यका साथ प्लास्टिक मुक्त धनगढी अभियान शुरु गरेको धनगढी उप महानगरपालिकाले अब फाइबर झोला उत्पादनलाई जोड दिएको छ । धनगढीमै कपडाका फाइबर झोला उत्पादन गर्न उप महानगरपालिकाले महिलाहरुलाई झोला बनाउने तालिम दिइरहेको छ । धनगढीलाई प्लास्टिक मुक्त शहर बनाउने उद्देश्य पुरा हुनुका साथै महिलाहरुलाई आत्मनिर्भर बनाउनमापनि तालिमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ । उप महानगरपालिकाले धनगढी उपमहानगरपालिका वडा नम्बर २ का २८ जना महिलाहरुलाई फाइबर झोला बनाउने तालिम दिएर उत्पादन शुरु गरेको छ । सो समुहलाई ५ वटा मेशिन उपलब्ध गराएर उप महानगरले झोला उत्पादन शुरु गरेको छ । अब उप महानगरका सबै वडामा तालिम दिएर फाइबर झोला उत्पादनमा जोड दिइने जनाइएको छ ।
हामीले प्लास्टिकमुक्त धनगढी बनाउनका लागी प्लास्टिक बिक्रि वितरणमा पुर्ण रुपमा रोक लगाइसकेका छौँ धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले भने “त्यसको बिकल्पमा हामीले दुना टपरी र फाइबर झोला उत्पादनमा जोड दिएका छौँ, हामीले सबै वडामा दुना टपरी सम्बन्धि तालिम दिएका छौँ र फाइबर झोला बनाउने तालिमपनि केही वडामा सम्पन्न भइसकेको छ, निकट भविश्यमा सबै वडासम्म यो तालिम पुग्ने छ ।” हामीले तालिम दिएर केही मेशिन सहित शुरु गरिरहेका छौँ उनले भने “त्यसपछि महिलाहरु आफै आत्मनिर्भर बन्नुहुने छ र बिस्तारै सबै क्षेत्रमा दुना टपरी र फाइबर झोला प्रयोगमा आउने छ ।”
गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम मार्फत उप महानगरपालिकाले महिलाहरुलाई फाइबर झोला बनाउने तालिम दिइरहेको हो । धनगढी उप महानगरपालिका २ मा तालिम दिइएका महिलाहरु अहिले धमाधम फाइबर झोला उत्पादन गरिरहेका छन् । उनिहरुले तरकारी, खाद्यान्न, लत्ता कपडा हाल्ने झोला बनाइरहेका छन् । बाहिरको भन्दा सुपथ मुल्यमा फाइबर झोला बिक्रि गरिरहेको बताउँदै फाइबर झोला लघु उद्यम समुह धनगढी २ की अध्यक्ष कौसिला महताले समयमै कच्चा पदार्थ नपाउँदा जनशक्ती अनुसार उत्पादन हुन नसकेको बताएकी छिन् ।
घरको काम सकेर फाइबर झोला उत्पादनमा लागेका महिलाहरु बिस्तारै आत्मनिर्भर बन्ने तर्फ केन्द्रित भएका छन् । शुरुवाती अवस्थामा कच्चा पदार्थ किन्नै ठिक्क भइरहेको लगानी बिस्तारै फाइदा हुने धनगढी उप महानगरपालिका २ की अनिता चन्दले बताइन् । अहिले भरखरै उत्पादन शुरु गरेका छौँ उनले भनिन् “पसलको छाप सहितका झोलाको माग बढी आइरहेको छ, हाम्रो टिम संगै बजार ब्यवस्थापन चुस्त बन्न सकेको छैन, सिक्दै बिस्तारै हामी राम्रै सफलता गर्ने छौँ भन्ने अपेक्षा छ ।”
सामुहिक फाइबर झोला उत्पादन शुरु गरेका महिलाहरुले धनगढीकै उत्पादन प्रयोग गर्न आग्रह गरेका छन् । धनगढीकै बबिता चौधरीले बाहिरको भन्दा सस्तो मुल्यमा झोला बिक्रि गरिरहेको बताइन् । बाहिरभन्दा हामी धेरै कम मुल्यमा बिक्रि गरिरहेका छौँ उनले भनिन् “सबैलाई थाहा नभएर बजारमा कम माग भएको हो बिस्तारै सबैको रोजाइमा धनगढीकै उत्पादन पर्ने अपेक्षा छ ।”
धनगढी उप महानगरपालिका २ मा मात्रै नभएर सबै वडामा उप महानगरपालिकाले फाइबर झोला बनाउने तालिम दिएर प्लास्टिक मुक्त धनगढी अभियान सफल पार्नुका साथै महिलाहरुलाई उद्यमी बनाउने योजना बनाएको छ । यसले यहाँका धेरै महिलाहरु उद्यमशिलतामा जोडिने अपेक्षा लिइएको छ ।