डडेल्धुरा। नेपाल सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार निर्णय गरेको थियो। मन्त्रिपरिषदको २०७८ माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहने गरी मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
सरकारले निर्णय गरेपनि हालसम्म मेडिकल कलेजको काम अगाढी बढ्न सकेको छैन। मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालय बीच त्रीपक्षीय सम्झौता भएपनि बजेट निकासा नहुँदा मेडिकल कलेजको कार्य अगाडी बढ्न सकेको छैन। सदुरपश्चिम विश्वविद्यालयका उप–कुलपति अम्मराज जोशीले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित रु ४० करोड रुपयाँ हालसम्म निकासा नभएको बताए।
उनले आईतबार दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री एंव विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल संग उक्त विनियोजित रकम निकाशाका लागि अनुरोध गरेका हुन्। उनले यस क्षेत्रका विद्यार्थीहरुलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने बताए। उपकुलपति जोशीले मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा नभैसकेकोले सम्माननीय प्रधानमन्त्रीज्यूमा त्यसतर्फ निर्देशनका लागि अनुरोध गरेको बताए । तर यता सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको जनाएको छ।
क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रधानमन्त्री (प्रचण्ड)ले प्रतिबद्धता जनाए। उनले भने, यस क्रममा नेपाल सरकारले २०७८ माघ १० गते डडेल्धुरामा सुप विश्वविद्यालयको आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायको रूपमा रहनेगरी स्वास्थ्य मन्त्रालय, शिक्षा तथा विज्ञान एवम् प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको स्मरणीय नै छ ।
उक्त क्याम्पसको स्थापनाबाट चिकित्सा विज्ञान शिक्षामा स्थानीय जनताको पहुँच विस्तार र विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने छ । क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहनेछ उनले दीक्षान्त समारोहमा भने। निकट भविष्यमा विश्वविद्यालयले वन विज्ञान एवम् हर्बलसाइन्सजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याउँदैछ र विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न विधाहरूमा कार्यक्रमहरू विस्तार गर्दै जानेछ । हर्बलसाइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्नसके यो प्रदेशको रोजगारीमा ठूलो योगदान पु¥याउन सकिने,उनले प्रतिबद्धता गरे ।


