कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भएको आरोप लागेको छ। महाकाली नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ।
बिहीबार भीमदत्त नगरपालिका वडा नम्बर ११ का स्थानीयले भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले नदीबाट उठाउने रोयल्टीमा अनियमितता भएको भन्दै छानबिनको माग समेत गरेका हुन्। उनीहरूले अनियमितता गर्नेमा नगरपालिकाकै कर्मचारीको मिलेमतो रहेको आरोप रहेको छ।
केही समय अगाडि रोउल्टी उठाउने कर्मचारीले भीमदत्त नगरपालिकाको छापबिना रोयल्टीको बिल काटिएको फेला परेको थियो। उक्त बिल त्यत्तिकै फालिएको अवस्थामा फेला परेको थियो। नगरपालिकाकै कर्मचारीको मिलेमतोमा यस्तो कार्य भइरहेको भन्दै स्थानीयले छानबिनको माग गरेका हुन् । भीमदत्त नगरपालिकाका उपप्रमुख जोशीलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्रमा सम्बोधन गर्न अल्टिमेटम दिएको स्थानीय सुभाष सिंह धामीले बताए।
उनले ज्ञापनपत्रमा उठान गरेका मागहरू एक हप्ताभित्रमा सम्बोधन नगरिए स्थानियहरु कडा कदम चाल्न बाध्य हुने उनको भनाई छ । पालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उक्त कार्य रोकिनुपर्ने चेतावनी दिएका छन् । नदीबाट उठाइएका सामग्रीको रोयल्टीमा व्यापक लुट मच्चिएको अवस्थामा उक्त रोयल्टी उठाउने कर्मचारीमाथि पनी कारबाही गर्नुपर्ने बताएका छन् । २०६५ सालमा आएको बाढीका कारण पीडित भएकाहरूले रोजगारी नपाएको भन्दै त्यसमा टाठा बाठाहरूको हालीमुहाली रहेको स्थानीय धामीको भनाई छ।
तत्कालीन समयमा महाकाली संघर्ष समिति र प्रमुख जिल्ला अधिकारीबीच सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार तटीय क्षेत्रका बाढी पीडित २४ परिवारमध्ये एक एक जनालाई रोजगारी दिने भन्ने थियो । तर, त्यो सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको स्थानियहरूको गुनासो छ। रोयल्टीबाट उठेको ४० प्रतिशत रकम ११ नम्बर वडाको जोखिम, न्यूनीकरण तथा विकासमा खर्च हुनुपर्ने उनीहरूको माग छ। उक्त विषयमा छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको थियो। नगरपालिका घाटामा छ भन्ने तर, कर्मचारीहरूबाटै राजश्व चुहावट हुने गरेको महेन्द्रनगर माध्यमिक विद्यालयका अध्यक्ष कृष्णदत्त जोशीले बताएका छन् ।


