धनगढी। धनगढी उपमहानगरपालीकाले हाटबजारमा तरकारी बेच्ने किसानलाई अनिवार्य परिचयपत्र बनाउनुपर्ने नियम लगाउने भएको छ। धनगढी उपमहानगरपालीका अगाडि रहेको तथा मुख्य बजारसँग जोडिएको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्ने किसानले परिचयपत्र आवश्यक पर्ने नियम उपमहानगरपालीकाले लगाउने भएको हो।
आर्थिक वर्ष २०७०/७१ देखि १० वर्षका लागि सिर्जनशिल समाजको सिर्जना (सीसीएस) नामक संस्थाले हाटबजार सञ्चालन गर्दै आएको छ। त्रिनगर हाटबजारमा ठुला व्यापारीहरुले रजाइँ गर्न थालेपछि नयाँ नियम बनाउन लागिएको धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए। हाटबजारमा कृषकले आफ्नो उत्पादन बेच्ने बच्ने भएकाले कृषक कोहो भनेर पत्ता लगाउन वडाबाट कृषकको नामावली मागेको उनले बताए। हाटबजारमा आफ्नो उत्पादन बेच्नेको नाम आएपछि उपमहानगरपालीकाले उहाँहरुलाई परिचयपत्र दिने उनले बताए।
उनले गैर कृषक बढी भएकाले किसानले व्यापार गर्न नपाएको बताए । ठुला व्यापारीहरु मात्र भएकाले किसानका लागि यस्तो नियम गरिएको बताए ।धनगढीको त्रिनगर माध्यामिक विद्यालयको जमिनमा सञ्चालनमा रहेको हाटबजारको आम्दानीको ७० प्रतिशत विद्यालयले पाउने सम्झौता छ। सीसीएस नामक संस्थाले सञ्चालन गर्दै आएको हाटबजारमा तरकारी, फलफूल तथा कृषि उत्पादन बिक्रीका लागि कुनै नियम थिएन। धनगढी उपमहानगरपालिकाले भारतीय तथा ठुला व्यापारीहरुले रजाइँ गर्दै आएका भन्दै नयाँ नियम लागु गर्ने भएको हो।
जसअनुसार त्रिनगर हाटबजारमा कृषि उपज बिक्रीका लागि किसान परिचयपत्र अनिवार्य गर्न थालिएको हो। हाटबजारमा हाल एक हजार बढीले व्यापार गर्न अनुमती पाएका छन्। धनगढी उपमहानगरवपालिका क्षेत्रका किसानलाइ हाटबजारमा कृषि उपज बिक्रीका लागि पहिलो प्राथमिकता दिइनेछ। भारतबाट आयात हुने तरकारीलाई विस्थापन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उपमहानगरको नीति छ। उपमहानगरपालिकाले शुक्रवार एक सूचना सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख उपाध्यायले भने, शुल्क तलमाथि हुँदैन। धनगढीको उत्पादनलाई पहिलो प्राथमिकता हो। बाहिरबाट ल्याउनु परेमा छलफल गर्ने उनको भनाई छ । त्रिनगर कृषि हाटबजारको ठेक्का सम्झौतामा धनगढी उपमहानगरपालिका, सीसीएस र विद्यालयको सहभागिता रहेको छ।
उपमहानगरपालिकाले निर्धारण गरेको रकमको ७० प्रतिशत विद्यालयले पाउने र २५ प्रतिशत उपमहानगरपालिकाले पाउने सम्झौतामा भनिएको छ । बाँकी ५ प्रतिशत कृषक समूहलाई दिने सम्झौतामा उल्लेख छ। किसानले हाटबजारमा कृषि उपज बिक्री गरेबाफतको रकम तिर्दै आएका छन्। त्रिनगर कृषि उपज हाटबजारमा एक हजार भन्दा बढीले व्यापार गर्न सक्ने क्षमता छ। बजारभित्र एक सय ४० वटा स्टल र १० वटा सटर छन्।हाटबजारमा कृषि उपजसँगै लत्ताकपडा प्लाष्टिकका सामग्रीसहितका सामान बिक्री हुँदै आएका थिए। तर उपमहानगरपालीकाले अहिले प्लाष्टिक र लत्ताकपडा बिक्री गर्न रोक लगाइएको छ।


