कैलाली। राष्ट्रिय तथ्यांक कार्यालयले कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना नगरी ‘राष्ट्रिय जनगणना २०७८’ सार्वजिनक गरेको छ। कार्यालयले शुक्रबार सार्वजिनक गरेको प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या २ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ। तर, नेपालको ‘चुच्चे नक्सा’मा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा कति मानिस छन् भन्ने तथ्यांक छैन। ‘परराष्ट्र मन्त्रालयको समन्वयमा तथ्यांक संकलनको प्रयास गरेका हौँ। भारतको बाटोहुँदै जानुपर्ने भयो। हाम्रो भए पनि अरु मुलुकले कब्जा गरेको भूभाग हो। त्यहाँ प्रवेश दिइएन,’ राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांङ्क अधिकारी नेबिललाल श्रेष्ठले भने, ‘जबर्जस्त संकलन गर्न मिलेन।’
भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि सही मापन नभएकाले कालापानी, लिम्पियाधुरा, लिपुलेक राष्ट्रिय जनगणनामा समावेश नभएको हो। ‘स्याटेलाइट इमेजबाट लिन खोजेका थियौँ । सही र गुणस्तरीय तथ्यांक संकलन नभएपछि समावेश नगरेका हौँ,’ उपप्रमुख श्रेष्ठले भने, ‘ती क्षेत्रमा गत वैशाखमा भएको स्थानीय तह र ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव पनि भएन।’उनका अनुसार ती क्षेत्रमा न्यून जनसंख्या छ । ‘तीनवटै ठाउँमा गरेर ५ सयको हाराहारीमा मानिस छन् भन्ने छ । तर यकिन तथ्यांक भने छैन । कति घर छन् भन्ने पनि स्पष्ट नभएको उनले बताए ।


