काठमाडौँ। मंगलबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै क्याम्पसमा तोडफोड भएको हो। विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन्।
तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ। सो क्रममा उनीहरुले भित्रबाट केही कुर्सी गेटमा ल्याएर नाराबाजी समेत गरेका छन्। त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन । भने त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन्।
बाहिर ल्याएर राखिएको कुर्सीमा चुनाव गराउन नसक्ने क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचनालगायतका पोस्टर टाँस गरेर विरोध गरेका छन्। भर्नालगायतको विवादका कारण त्रिचन्द्रमा स्ववियु निर्वाचन अधि बढाउन विवाद हुँदै आएको छ।

