कञ्चनपुर। कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइले हात पारेको छ । उसले १० स्वर्ण ,४ कास्य र २ रजत सहित उपाधि जितेको हो । समैजिले रनिङ सिल्डमा सहभागी २२ विद्यालयलाई पछि पार्दै पहिलोपटक उपाधि जित्न सफल भएको हो।
त्यस्तै ४ स्वर्ण ,३ कास्य र २ रजत सहित विणा मावि बिचुवाले दोश्रो स्थान हात पारेको हो भने ३ स्वर्ण,४ कास्य र ७ रजत सहित कृष्ण मावि मौवाफाँटाले तृतीय स्थान हात परेको छ । नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदका प्रतिस्पर्धा भएको थियो। कृष्णपुर नगरपालिकाको आयोजना र कृष्णपुर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको छ।
रनिङ सिल्डमा भलिबल ,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइएको थियो । समापन समारोहका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफुले शिक्षा स्वास्थ्य सँगै खेलकुदलाई प्राथमिकतामा राखेकोले खुलेर खेलकुदका गतिविधिमा सहभागी हुन विद्यार्थीहरुलाई आह्वान गरे । उनले आफू योजनाबद्ध तरीकाले अगाडि बढिरहेको भन्दै कृष्णपुरका खेलाडीहरुको बृहतर हितका लागि आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न समापन समारोहको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए । त्यस्तै विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना,नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु दत्त भट्ट रहेका थिए । अतिथिमा विभिन्न वडाका वडाध्यक्षहरु,विभिन्न खेलसँग सम्बन्धित पदाधिकारी,रनिङ सिल्डमा सहभागी विद्यालयका प्राधानाध्यापकहरु रहेका थिए । हजारौं विद्यार्थी र दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।