धनगढी : सुदूरपश्चिम सरकारको नेतृत्व अब काग्रेंसले गर्ने सम्भावना बढेको छ । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिहं रावलले बिश्वासको मत पाउने सम्भावना नदेखिएपछि काग्रेंस नेतृत्वमा सरकार गठन हुने देखिएको हो । मुख्यमन्त्री रावलले बिश्वासको मत लिने आज अन्तिम दिन हो, आज ४ बजेका लागी प्रदेशसभाको बैठक बोलाइएको छ । सत्ता साझेदार दलका रुपमा रहेको नागरिक उन्मुक्तीले बिश्वासको मत नदिने बताउँदै संसदहरु काठमाण्डौँमै राखेपछि रावलले बिश्वासको मत पाउने सम्भावना निकै कम देखिएको हो ।
आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा हो। मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ। सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक ब्यवस्था छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन्।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका ७ र राप्रपाका एक गरी सत्ता पक्षमा २९ सदस्य छन्। नाउपाले मत नदिने भएपछि अब सत्ता पक्षमा त्यो संख्या २१ मा झरेको छ । जसले गर्दा प्रदेश सरकार अल्पमतमा पर्दैछ।प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसद छन्।

