धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई नेपालको पुरानो नक्सा भएको डायरी वितरण गरिएको छ। नव निर्वाचित ५३ जना प्रदेश सभा सदस्यहरूलाई छालाको ब्याग र त्यसभित्र कलम र डायरी वितरण गरिएको थियो। ब्यागसँगै वितरण गरिएको डायरीमा नेपालको पुरानो नक्सा छ। सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री निर्वाचित भएका छन्।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारले लिपुलेक, लिम्पियाधुरा सहित भारतले अतिक्रमण गरेका नेपाली भूभागलाई समेत चुच्चे नक्सा जारी गरेको थियो। तर सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई बाँडिएको डायरीमा भने नेपालको चुच्चे नक्सा छैन। शनिवार प्रदेश सभामा बोल्दै एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीले प्रदेश सभा सदस्यलाई नेपालको पुरानो नक्सा भएको डायरी बाँडिएको विषयमा छानबिन गरिनु पर्ने बताए।