धनगढी। सुदूरपश्चिममा नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा सहमति जुटेन । कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचनमा जाने तयारी गरिएको छ । दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो । सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको प्रदेश महामन्त्री तथा निर्वाचन समितिका सदस्य नरनारायण शाहले जानकारी दिए ।
निर्वाचन समितिको बैठकपछि निर्वाचन तालिका प्रकाशन गरिने महामन्त्री शाहले बताए। सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन् । दलको नेता चयनका लागि मंगलबार कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवहाक उपसभापति लोकराज अवस्थीको नेतृत्वमा बसेको बैठक निष्कर्षविहीन भएको थियो । कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले दलको नेता चयन गर्नका लागि पार्टीका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन समितिको सदस्यमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा रहेका छन् । दलको नेता चयनका लागि बैठकमा आकांक्षीहरुलाई धारणा राख्न समय दिएपछि ६ जनाले धारणासहित दलको नेताका लागि दाबी प्रस्तुत गरेका थिए भने एक जना भने बैठकमा नै उपस्थित भएका थिएनन्।बैठकमा उपस्थिति नभएपनि फोन गरेर दाबी प्रस्तुत गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री शाहले जानकारी दिए ।
“सात जनाले नैे संसदीय दलको नेताका लागि दाबी गरेका छन्,” शाहले भने, “१९ जना प्रदेशसभा सदस्य रहेका मध्ये ७ जनाले दलको नेता हुने दाबी गरेका हुन् ।” बैठकमा उनीहरु सबैलाई पालैपालो धारणा राख्न समय दिइएको थियो । सकेसम्म दलको नेता सर्वसम्मत रुपमा चयन गर्न प्रदेश पदाधिकारीले सुझाव दिएको महामन्त्री शाहले बताए । बैठकमा आकांक्षीहरुलाई एक जनाको नाममा सहमति गर्न भनिएको थियो तर उनीहरुबीच सहमतिको वातावरण नबेपछि बैठक टुंगिएको थियो। दलको नेता हुनका लागि प्रदेश सदस्य शिवराज भट्ट, बहादुरसिंह थापा, मेघराज खड्का, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह, दिवानसिंह बिष्ट र मानबहादुर रावलले दाबी प्रस्तुत गरेका हुन् ।