धनगढी।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु भोलि धनगढी आउने भएका छन्। देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा छन्।
उनीहरु भोलि (आईतबार) सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी आउन लागेका हुन्।सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका जनाइएको छ। धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउन लागेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए।
कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ यहाँ आउदैछन्।


