कैलाली। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुदुरपश्चिमका केही उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सुदुरपश्चिमका जिल्लामा उम्मेदवार बनेका तर निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन् । त्यसैमध्ये नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायर पनी आफूले भने आफैलाई मत दिन नपाउने अवस्थामा छन्। अघिल्लो पटक सम्म डोटीबाट निर्वाचन लड्दै आएका बलायरलाई अहिले डोटी छोड्ने कैलाली ४ मा छन् । सत्ता गठबन्धनबाट एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एकीकृत समाजवादीलाई भाग परेपछि अघिल्लो पटक आफै हारेको व्यक्तिलाई जिल्ला सुम्पिएर बलायर कैलाली ४ झरेका हुन् ।
उनको कैलाली ४ मा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग प्रतिस्पर्धा हुने भएको छ। तर, बलायरले आफैलाई मत हाल्न नपाउने भएका छन्। बलायर अहिले आफुलाई जिताउन अरु सँग मत मागिरहेका छन् । यस्तै संविधान सभा सदस्य कृष्ण कुमार चौधरी कुन्दले पनि आफैले आफैलाई मत दिन नपाउने भएका छन्। सत्ता गठबन्धनको तर्फबाट कैलाली ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका कुन्दन मतदाता नामावली भन्दा बाहिर रहेको क्षेत्रबाट उम्मेदवार भएपछि आफैलाई मत दिन नपाउने भएका हुन्।
क्षेत्र नम्बर ३ मै मतदाता नामावली रहेका प्रदेश सभा सदस्य वीरमान चौधरी र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीलाई पाखा लगाएर क्षेत्र नम्बर ४ मा नामावली रहेका कृष्ण चौधरी कुन्दनलाई उम्मेदवार बनाइएको थियो । प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिएका सागर ढकालले पनि आफैलाई मत दिन नपाउने भएका छन् । आयोगको व्यवस्था अनुसार गुल्मीमा मतदाता नामावली रहेका ढकाल डडेल्धुरामा उठ्दा उनले आफैलाई मत दिन नपाउने भएका हुन् । प्रतिनिधि सभा तर्फ मात्र होइन प्रदेश सभा तर्फ पनि मुख्य दलकै मुख्य केही उम्मेदवारहरूले आफैलाई मत दिन नपाउने अवस्थामा छन् । यसरी आफैलाई मत दिन नपाउनेमा माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट पनि छन् ।
लगातार तीन पटक सम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका भट्ट अहिले देउवाकै सहयोगमा मुख्यमन्त्री हुने चर्चा सहित निर्वाचनमा होमिएका छन्। भट्ट पनि आफैलाई मत दिन नपाउने अवस्थामा छन् । उनी अयजमेरु गाउँपालिका निवासी हुन् । यो क्षेत्र प्रदेश सभा ख मा पर्छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द बोहरा उम्मेदवार छन्। प्रदेश सभा खमा मतदाता नामावली रहेका भट्ट प्रदेश सभामा क बाट उम्मेदवार बनेका छन् । यता कैलाली ४को खमा सत्ता गठबन्धनबाट उम्मेदवार भएका प्रकाश बमले पनि आफैलाई मत दिन नपाउने भएका छन् ।उनको क्षेत्र सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीलाई परेपछि उनले प्रदेश सभाकै अर्को क्षेत्र रोज्न बाध्य भए । जहाँ उनले भोट दिन पाउँदैनन् । यता कैलाली ५ को कबाट उम्मेदवार भएका माओवादीका रमेश धामीले पनि आफूलाई मत दिन नपाउने भएका छन् । अघिल्लो पटक बाम गठबन्धनबाट प्रदेश ख को उम्मेदवार रहेको भट्ट अहिले सत्ता गठबन्धनबाट प्रदेश कको उम्मेदवार भएका छन् ।


