दार्चुला। नेकपा एमाले दार्चुलाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भई एक विद्यालयका प्रधानाध्यापकले एमालेका उम्मेदवारहरुलाई मत दिन प्रचार–प्रसार गरेको पाइएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिकक विद्यालय मडका प्रधानाध्यापक भुवन डागा एमालेको कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार–प्रसारमा निस्केर प्रचार–प्रसार गरिरहेका छन् । प्रधानाध्यापक डागाले शैल्यशिखर नगरपालिका–६ मा रहेको ग्वानीको बजानीमा गएर एमालेका उम्मेदवारहरुलाई प्रचार–प्रसार गरिरहेको त्याहाका स्थानियले बताएका छन् ।
प्रधानाध्यापक डागा एमालेका नेताहरुले गरिरहेको कार्यक्रममा सहभागी भएको तस्विर बाहिर आएको छ । यस्तै शैल्यशिखर नगरपालिकामा करार पदमा कार्यरत ईन्जिनियर योगेश सिंह धामी, पशुपति भवन माध्यमिक विद्यालयका शिक्षक विनोद सिंह धामी पनि सोही कार्यक्रममा सहभागी रहेको तस्विर सार्वजनिक भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तीलाई प्रचलित कानूनबमाजिम तत्काल विभागीय कारवाही प्रारम्भ गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ । निर्देशन बमोजिम कारवाही नगर्ने कार्यालय प्रमुखहरुलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम आयोग सचिवालयले कारबाही गर्ने जनाएको छ ।

