कैलाली। सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ। नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादीले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो ।
तर, आसन्न चुनावमा एकीकृत समाजवादीले गठबन्धनबाट दुईटा मात्र सीट पाएको छ । यहाँका नौ जिल्लामा गरी प्रदेश सभामा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा ठूला दल हुँदा पनि एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेश सभामा कैलाली क्षेत्र नम्बर ४ (२) र कैलाली क्षेत्र नम्बर ३ (२) मा मात्रै भाग परेको छ। सत्ता गठबन्धनका दलहरूबीच सहमतिअनुसार कैलाली ४ (२) मा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र कैलाली क्षेत्र नम्बर ३ (२) मा निवर्तमान अर्थराज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित भएपछि गठबन्धनमा समस्या भएको छ । यसैबीच गठबन्धनले दुई सीटमा नै समिति गरेपछि एकीकृत समाजबादीले बाजुराको प्रदेश (२), अछामको २ (२) र कञ्चनपुर २ (२)मा गठबन्धनविरुद्ध नै उम्मेदवारी दर्ता गरेको छ । यी दुईटै क्षेत्रमा कांग्रेसका उम्मेदवार रहेका छन् । त्यस्तै कञ्चनपुर ३ (१) मा पनि माओवादीले दाबी नछोडेपछि एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छ ।
उता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा पनि गठबन्धनविरुद्ध एकीकृत समाजवादीले बागी उम्मेदवारी दिएको छ ।
एसका पाँच जिल्लामा बागी उम्मेदवार- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । यहाँ गठबन्धनबाट कांग्रेसका बहादुरसिंह थापाले उम्मेदवार छन् ।त्यस्तै कञ्चनपुर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (१) मा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले उम्मेदवारी दर्ता गराए । यहाँ माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले टिकट पाएका छन् । बैतडीमा एकीकृत समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (१) मा बागी उम्मेदवारी दिएका छन् ।
यहाँ कांग्रेसका वीरबहादुर विष्ट गठबन्धनका उम्मेदवार छन्। दार्चुला (२) मा पनि वीरबहादुर विष्टको बागी उम्मेदवारी छ । यहाँ माओवादीका मानबहादुर धामी गठबन्धनका उम्मेदवार छन् । उनी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री हुन् । बाजुरामा(१) मा नरेशकुमार शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा माओवादीका कर्णबहादुर बिक गठबन्धनका उम्मेदवार छन् । त्यस्तै डडेल्धुराको प्रदेश सभा (२) मा समाजवादीका नेता डा. तारा जोशीले बागी उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कांग्रेसका नेता तथा प्रदेशका सामाजिक विकासमन्त्री गोबिन्द बोहरा रहेका छन् । फरक–फरक जिल्लामा गठबन्धनविरुद्ध बागीका कारण पार्टीको रक्षा भएको एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ ।


