धनगढी : कैलाली उद्योग वाणिज्य संघले धनगढी उप महानगरपालिकाको निर्णय नमान्ने भएको छ । उप महानगरपालिकाले प्लास्टिक पुर्ण रुपमा बन्द निर्णय गर्दै सुचना जारी गरेसंगै कैलाली उधोग बाणिज्य संघले सो निर्णय ब्यवसायी बिरुद्ध भएकाले नमान्ने जनाएको हो ।
बुधबार कैलाली उधोग बाणिज्य संघको बैठकले सो निर्णय गर्दै विज्ञप्ति नै जारी गरी सम्पूर्ण व्यवसायमा ९० प्रतिशतभन्दा बढी बस्तुमा प्लाष्टिक प्रयोग हुने भएकाले उक्त निर्णयले सबै व्यवसायी त्रसित बनेको उल्लेख गरेको छ।
‘विशुद्ध रुपमा व्यवसायिक संस्था भएकाले हुनुपर्ने व्यवसाय विरोधी नीति र व्यवसाय विस्थापित गर्ने निर्णयमा कैलाली उद्योग वाणिज्य संघ सदा असहमत रहने जानकारी गराउँछौं’ विज्ञप्तिमा भनिएको छ।
संघले व्यवसायबाट निस्कने फोहर स्वयम् व्यवस्थापन गर्दै निर्वाध रुपमा प्लाष्टिकजन्य व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले असोज १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उपमहानगरपालिकाको कार्यपालिका बैठकले नै प्लाष्टिकजन्य उत्पादन विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो।


