कैलाली। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कैलालीमा पार्टीका नेताहरु उम्मेदवार नाम सिफारिसको कार्य तयारी तिब्र पारिएको छ । कतिपय पार्टीका नेताहरुले उम्मेदवार बन्नका लागि दाबी पेश गरिरहेका छन् भने उम्मेदवारको नाम सिफारिसका लागी को नेता उपयुक्त होला भनेर उम्मेदवार छनौटमा लागी परेका छन् ।
यसैबिच कैलाली-४ मा नेकपा एमालेबाट लेखराज भट्टको नाम नाम सिफारिस भैसकेको छ । यसपटकको निर्वाचनमा सत्ता गठबन्धनबाट कैलाली(४ कसको भागमा पर्ने भन्ने अझै निश्चित भएको छैन। कैलाली-४ बाट प्रमुख प्रतिपक्षी दल एमालेबाट भट्टको एकल नाम सिफारिस भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार को हुने भन्ने चाँसो बढेको छ । भने एमालेका भट्टसँग गठबन्धनबाट को निर्वाचनमा भिड्ला भन्ने चाँसो बढेको पाइएको छ। एमालेका भट्ट यसअघि २०६४ को निर्वाचनमा कैलाली ४ बाट नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । भने उनका प्रतिद्वन्दी कांग्रेसका दीर्घराज भाट पराजित भएका थिए।
यस्तै २०७० को निर्वाचनमा भने लेखराज भट्ट पराजित भए भने भाट बिजयी भएका थिए । फेरी ०७४ को निर्वाचनमा भने एमालेसँग चुनावी तालमेल गरेर माओवादीका भट्ट पुनस् विजयी भए भने कांग्रेसका सुनिल भण्डारी पराजित भएका थिए। उम्मेदवार भट्टसँग १० हजार ३९९ मतान्तरले पराजित भएका थिए। तर यसपटकको निर्वाचनमा कैलाली-४ बाट एकल सर्बसम्मत सिफारिस भएका भटट् सत्ता गठबन्धनका को सगँ चुनाव लड्ने अझै निश्चित भएको छैन् । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा पराजित भएका सुनिल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, भोजराज भट्ट, डा.लक्ष्मीराज पाठक, प्रदीपराज जोशी र प्रकाश बम गरी ४ जनालाई सिफारिस गरेको छ। यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले संघका लागि ३ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिले प्रतिनिधिसभाका लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम सिफारिस गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीबाट दीर्घराज सोडारीले दाबी गरेका छन्।
तर, कांग्रेस नेताहरुलाई लेखराज भट्ट कैलाली-४ मा बलियो उम्मेदवार भएका कारण उनलाई पराजित गर्नका लागि पनि कैलाली-४ कांग्रेसले लिनुपर्ने स्थानीय नेताहरुको दबाब छ। प्रचण्डलाई त्यागेर ओली रोजेका भट्टलाई चुनाव जिताउनैपर्ने नैतिक दबाब अध्यक्ष ओलीलाई छ। माओवादीबाट पराजय हुने भयका कारण उनले नेकपा एमाले प्रवेश गरेको आरोप पनि उनीमाथि लागेको छ। कैलालीमा एमालेबाट विभाजित भएर ठूलो शक्ति माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा लागेपछि एमाले थप कमजोर बनेको आँकलन गरिएको छ। त्यसैले भट्टका लागि यसपटकको चुनाव त्यसमा पनि गठबन्धनको सामना गर्नु त्यति सहज भने देखिँदैन। तर, भट्ट भने गठबन्धन हुँदा पनि आफूलाई गाह्रो नहुने दाबी गरिरहेका छन्। अहिले म पार्टीको आन्तरिक काममै व्यस्त छु। बाहिर जान सकेको छैन। गठबन्धन हुँदा पनि जनताले मलाई साथ दिनेमा विश्वस्त रहेको उनले बताएका छन् ।


