काठमाडौं।बलात्कार आरोप लागेपछि राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बनमा परेका सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। उनलाई नेपाल आउनासाथ पक्राउ गर्नेगरी विभागले कालो सूचीमा राखेको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो।लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ।भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए।
क्यानले उनलाई निलम्बन गरेपछि उनले सीपीएल पनि खेल्न पाएनन्। गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सीपीएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए। उनी कहिले नेपाल आउँछन् भन्ने विषयमा कुनै टुंगो नलागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहोराले बताए।उनीमाथि एक १७ वर्षीया नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

