काठमाडौँ । नेकपा माअोवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनपछि भएको पदाधिकारी चयनको विवाद सार्वजनिक भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको उपमहासचिव पद जनार्दन शर्माले अस्वीकार गरेका छन् । त्यसक्रममा प्रचण्डले ‘तपाईं मैले नै हुर्काएको व्यक्ति हुँ भन्ने नबिर्सनुस्’ भन्दै चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा जनार्दनले आफू उपमहासचिवका रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको भन्दै पद अस्वीकार गरेका हुन् । प्रचण्ड उपस्थित मञ्चमै जनार्दनले पद अस्वीकार गर्दै आफू उपमहासचिवको हैसियतमा नभई कार्यकर्ताका रूपमा कार्यक्रममा आएको बताए । माओवादी केन्द्रमा जनार्दन र वर्षमान पुन दुवै महासचिवका दाबेदार थिए । तर, प्रचण्डले यही भदौ ४ गते देव गुरुङलाई महासचिव बनाएका थिए । प्रचण्डले जनार्दन र वर्षमानसहित गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव तोकेका थिए । अध्यक्षले लिएको निर्णयमा त्यस बेलै फरक मत राखेका जनार्दनले पद नै अस्वीकार गरेका हुन् ।
“म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,” जनार्दनले कार्यक्रममा भने, “पार्टीमा ६ जना उपमहासचिव छन् । म यहाँ उपमहासचिव पदको हैसियतमा सम्बोधन गर्न आएको होइन ।”माओवादी केन्द्रमा संगठन विभागको नेतृत्वमा महासचिव नै हुने अभ्यास छ । कार्यक्रममा जनार्दनले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबैभन्दा ठूलो रक्षक पनि भएको बताएका थिए । त्यही प्रसंगमा प्रचण्डले जनार्दनलाई जवाफ समेत दिएका छन् ।
जनार्दनले पद अस्वीकारसहितको असन्तुष्टि पोख्दा मञ्चमै रहेका प्रचण्डले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको उल्लेख गरे । नेताहरूको रक्षा गर्ने र हुर्काउन पनि आफूले नै मुख्य भूमिका खेलेको प्रचण्डले बताए । उनले यसो भनेर जनार्दनलाई धरातल नभुल्न अप्रत्यक्ष चेतावनी समेत दिएका थिए । “जनार्दनले जाँदाजाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,” प्रचण्डले भने, “अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् र हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून् भन्ने छ ।”
https://www.facebook.com/supamedia01/videos/1060178534633352