दार्चुला। नेकपा एमाले दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एबम् प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिए।
२०७० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक पाँच दलिय गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले पराजित गर्ने दावी गरे ।यस्तै एमाले दार्चुलाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिंकरी सिफारिस हुनुभएको छ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुङ्गो लाग्न नसकेको नेताहरुले बताए। दार्चुलामा गठबन्धनबाट कांग्रेस र माओबादी दुबैको प्रतिनिधिसभामा दाबी रहेको छ ।दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य, प्रदेश सहइन्चार्ज ठगुन्नाले भन्नुभयो, “प्रतिनिधिसभामा कम्तिमा पाँच हजार र प्रदेशसभातर्फ क र ख दुबै निर्वाचन क्षेत्रमा कम्तिमा दुईदेखि अढाइ हजार मतान्तरले दुबै क्षेत्रमा एमालेको विजय हुन्छ ।”लोकेन्द्र जोशी/गोरखापत्र अनलाइन

