धनगढी : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायीलाई प्रहरीले कैलाली ल्याइएको छ। बुधबार त्रिभुवन बिमानस्थलबाट पक्राउ परेका ब्यवसायी शन्तोस लामिछानेलाई बिहीबार विहान धनगढी ल्याएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
लामिछाने करोड बढी मुल्य बराबरको सुन चोरीमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता बेद प्रकाश जोशीले लामिछाने भारतबाट सुन चोरी गरी नेपाल ल्याएर बिक्रि गर्ने गरेको अनुसन्धानबाट खुलेको बताएका छन् । उनले अहिले सबै अनुसन्धान नसकिएको बताए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका लामिछाने श्रीमती सहित नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेको बेला जहाजबाटै पक्राउ गरिएको थियो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो।

