कैलाली। पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिकरूपमा मनाइरहेका छन्। यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ ।
थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भने, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वाससमेत रहिआएको छ।” यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ । गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उनले बताए। यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ।
यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेचाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ । यो पर्व आज धनगढीको क्याम्पसचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने जिल्लाका विभिन्न पालिकामा सामूहिकरूपमा भव्यताका साथ मनाउने कार्यक्रम तय भएको धनगढीका थारू अगुवा प्रभात चौधरीले बताए। कोभिड–१९ को संक्रमणका कारण गत वर्षमा यस पर्वमा खासै चहलपहल नभए पनि यस वर्ष भने पर्व मनाउनका लागि ठाउँ–ठाउँमा भव्य तयारी गरिएको छ।‘गुरही’ पर्वका अवसरमा आज धनगढी उप-महानगरपालिका,भजनी नगरपालिका, कैलारी र जोशीपुर गाउँपालिकाले स्थानीय स्तरमा बिदा दिने निर्णय गरेका छन् । ती स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिन निर्णय गरिएकोे सूचनामा उल्लेख छ ।

