धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन्। विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। अटोरिक्सा चालकहरुले एलएन चोकदेखि धनगढी उपमहानगरपालिका कार्यालय परिसरसम्म रिक्साहरु लामवद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध बिहानैदेखि प्रदर्शन गरेका छन् ।
यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको र प्रहरीले दैनिक जरिमाना काट्न थालेपछि आन्दोलनमा उत्रिएको अटो रिक्सा चालक देवराज अवस्थीले बताए । अटो रिक्सा चालक अनुमती पत्रको आवेदन नखोल्ने तर लाइसेन्स नभएको भन्दै ट्राफिक प्रहरीले दैनिकजसो पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना तिराउन थालेपछि आन्दोलन गर्न बाध्य भएको उनले गुनासो गरे । ‘ट्राफिक प्रहरीले लाइसेन्स खोइ भन्दै दैनिक जरिवाना काट्छ। यातायात कार्यालयमा जादा लाइसेन्स खोलेको छैन ‘अब हामीले के गर्ने ? कहिले कही त दिनमा दुई पटकसम्म जरिवाना तिर्नुपर्छ, उनले भने ।
धनगढीकै अर्का अटो रिक्सा चालक शेरबहादुर सिंहले लाइसेन्सको फारम भरेपनि परीक्षा नहुँदा हैरानी खेप्नुपरेको बताए । ‘आज बिहान मात्र पाँच सय रुपैयाँ जरिवाना तिरायो । लाइसेन्सको आवेदन फारम भरेको भएको परीक्षा कहिले हुने हो थाहा छन् । पछिल्लो एक हप्तामा दैनिक पाँच सयका दरले ३ हजार ५०० जरिवाना तिरिसकेको उनको दाबी छ । यस्तै विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने, शीघ्र चालक अनुमती पत्र ९लाइसेन्स० वितरणको प्रक्रियामा जानुपर्ने माग राख्दै आन्दोलन गर्न परेको बताए। उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालयले माग सम्बोधन गर्न तयार नभए अनिश्चितकालीन आन्दोलनका कार्यक्रम ल्याउनेसमेत संघका अध्यक्ष जोशीले चेतावनी दिए । विद्युतीय रिक्सा चालक संघले उठाएका मागबारे अहिले धनगढी उपमहानगरपालिका कार्यालयमा छलफल भइरहेको छ।


