कञ्चनपुर। युवा जनस्वयंसेवक नेपाल कञ्चनपुरले मिटर व्याजीहरूका विरुद्ध जिल्ला प्रशासन कार्यालय कञ्चनपुर समक्ष ज्ञापन पत्र पेस गरेको छ। नेकपा (बहुमत)को सहायक सङ्गठन युवा जनस्वयंसेवक नेपालको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई मिटर व्याज आतङ्क तत्काल रोक्न ज्ञापन पत्र बुझाएको छ ।
मिटर व्याज आतङ्क नरोकिए जनसङ्घर्षमा उत्रिने र सो सङ्घर्षबाट सिर्जित परिस्थितिको जिम्मेवारी उक्त व्यक्ति र प्रशासनले लिनुपर्ने युवा जनस्वयंसेवक नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दीपेन्द्र सिंह ऐरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा चेतावनी दिइएको छ। कञ्चनपुर लगायत विभिन्न जिल्लामा चलिरहेको मिटरव्याज आतङ्क विरुद्धको आन्दोलनमा कञ्चनपुर जिल्ला समितिले ऐक्यबद्धता जाहेर गरेको जनाएको छ ।सोझासाझा जनतालाई अत्यावश्यक रकम दिएको बाहानामा किर्ते कागज बनाए र जनताको उठिबास लगाउने मिटर ब्याजीको आतंक छ, ज्ञापनपत्रमा भनिएको छ, २० हजार क्रण दिएर नक्कली कागज बनाएर ५० लाखसम्म असुल गर्ने गरेको पाईन्छ, त्यस्ता मिटर ब्याजीलाई कारबाही गर्न आग्रह गर्दछौँ। 


