काठमाडौं। प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौला पन्तले नर्सिङ विषय पठनपाठन गराउने कलेजहरुले चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड पूरा गर्न नसक्दा आफ्नो कार्यक्रमहरु बन्द गर्नुपर्ने अवस्था आएको बताएकी छन् ।प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले गुणस्तरीय नर्सिङ शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ पठनपाठन अगाडी बढाउन सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराईन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न तत्काल व्यवस्था गर्न उनले माग गरिन् । उनले भनिन्, ‘एकातिर नेपालले दक्ष जनशक्तिको रुपमा रहेका नेपाली नर्सहरुलाई बेलायत पठाउन स्वीकृति दिएको छ भने अर्कोतर्फ नर्सिङ विषय पठन–पाठन गर्न नेपालमा रहेका कैयौं कलेजहरुले चिकित्सा शिक्षा ऐन २०७५, नियमावली २०७७ ले तोकेको मापदण्ड पूरा गर्न नसकेको कारण आफ्ना कार्यक्रमहरु बन्द गरेका छन् ।
१०० सैय्याको आफ्नै अस्तताल चलाउनुपर्ने भन्ने प्रावधान व्यवहारिक नभएको गुनासो आइरहेको छ । प्राविधिक, एसईई, डिप्लोमा तथा स्नातक तहमा निःशुल्क छात्रवृत्ति पढ्न योग्य सयौं विद्यार्थीहरु पढाइबाट बञ्चित हुनुपरेको छ । अरबौं रुपैयाँका लगानी डुब्ने स्थिति पैदा भएको छ ।’ उनले गुणस्तरीय नर्सिङ शिक्षामा सम्झौता नहुने गरी नेपालका कलेजहरुलाई नर्सिङ पठनपाठन अगाडि बढाउन सहजीकरण गर्नका साथै कर्णाली सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न तत्काल व्यवस्था गर्न माग गरिन् ।

