कैलाली। कैलारी गाउँपालिका ७ का वडा सदस्यको निधन भएको छ। कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको हो। कैलारी गाउँपालिका–७ भुईयाँफाँटा निवासी उनको बिहीबार साँझ निधन भएको हो। पसलमा बसेर कुराकानी गर्ने क्रममा एक्कासी अचेत देखिएका चौधरी त्यसपछि नउठेको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दीपेन्द्र बमले जनाए।
उनका अनुसार वडा सदस्य चौधरी उच्च रक्तचापका बिरामी थिए । उनी रक्तचापको औषधि सेवन गर्दै आएका थिए।गाउँ सभा सदस्यको निधन भएपछि कैलारी गाउँपालिकाभरि शुक्रबार शोक बिदा गरिएको छ।गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा एक दिन शोक बिदा गरिएको प्रवक्ता बमले जानकारी दिए।उनले वडाले एक कुशल समाजसेवी गुमाएको उल्लेख गर्दै आज बस्ने कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्ने जनाएका छन्।

