कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टा खामकी १३ बर्सिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको छ। २०७५ साल साउन १० गते हराएकी निर्मला ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन।निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो।
मेडिकल रिपोर्टमा निर्मलाको बलात्कारपछि हत्या भएको जनाइएको थियो । घटनाको ४ वर्षसम्म पनि प्रहरी अझै दोषीसम्म पुग्न सकेको छैन् ।अनुसन्धान कुहिरोको काग जस्तै बने पछि निर्मलाकी आमा दुर्गा देवी पन्तलाई न्याय पाइन्छ भन्ने विश्वास लाग्न छाडेको छ।वडा कार्यालयको स्वास्थ्य शाखामा काम गर्न थालेकी उनलाई विगत ८ महिना यता कुनै पनि सरकारी अनुसन्धान अधिकारीले यो प्रकरणका विषयमा सोधपुछ पनि गरेका छैनन्। सरकार र अनुसन्धान अधिकारी फेरिने तर प्रवृत्ति पुरानै दोहरिने भएपछि उनले पनि अहिले जिल्ला प्रहरी कार्यालय धाउन छोडिसकिन।
‘अब निर्मलाले न्याय पाउँछे भनेर र कत्ति पनि आशा बाँकी छैन,’ उनले भनिन्, ‘अहिले न कसैले सोधपुछ गर्छन्, न मैले नै सोधखोज गरेकी छु। एउटै प्रश्नको जवाफ पनि कति जनालाई दिइसक्नु। यति सरकार फेरिए, अनुसन्धान गर्ने पनि कति फेरिए फेरिए, न्याय पाइने भए त पाइसक्थे। अब नपाइने नै हो भनेर मन शान्त बनाउने र यी दुई छोरीहरूको जीवन उज्यालो बनाउनेतिर सोच्नुपर्छ भन्ने लाग्न थालिसक्यो।’ निर्मला भन्दा जेठी छोरी बीबीएस प्रथम वर्षमा पढ्न थालिसकिन्। कान्छी छोरी सरस्वती एसइई दिएर नतिजाको पर्खाइमा छिन्। दुर्गादेवीको घर हुँदै बजार र गाउँ जाने उल्टा खामको बाटो पहिले जस्तो अहिले सुनसान छैन। तर पनि निर्मलाको हत्या भएको बाटो छोरीहरूलाई कलेज पठाउँदा भने दुर्गादेवीको मनमा सधैँ चिसो पस्छ।‘कान्छी छोरी पनि एसइई पास भएपछि अब गाउँ छोडेर बजार पढ्न जानुपर्ने हुन्छ।
त्यो बाटो एक्लै साइकलमा कसरी पठाउने भनेर अहिल्यै बाट मनमा डर लाग्न थालिसक्यो,’ दुर्गादेवी भन्छिन्, ‘हामी जस्ता बेसहाराको को नै पो हुन्छन् र सहारा?’ गत वर्षको साउन महिनाबाट ‘माइग्रेन’ को औषधी सेवन गर्न थालेकी दुर्गादेवीले वरपरका छरछिमेकबाट भने अहिले पहिला जस्तो अपमान सहनुपरेको छैन। पहिला गाउँ निकाला नै गर्नुपर्छ भन्नेहरू पनि अहिले भेट हुँदा बोलचाल गर्न थालिसके। दोस्रो बिहे गरेर छुट्टै बस्दै आएका श्रीमान् यज्ञराज र उनकी कान्छी श्रीमतीसँगको सम्बन्ध पनि अहिले केही सुधार भइसकेको उनले सुनाइन्। ‘अहिले समाज, छरछिमेकको माहौल त ठिकै भइसक्यो। पहिला प्रहरीलाई धम्क्याउने, आन्दोलनको चेतावनी दिनेहरू पनि शान्त भइसके। अब यस्तो वातावरणमा झन् सक्रिय हुनुपर्ने प्रहरी पनि शान्त भएको जस्तो देखेर निर्मलाले न्याय पाउँदिन भनेर आशा करेको हो,’ उनले भनिन्।
प्रहरी अनुसन्धान डिएनएकै भरमा- निर्मलाको हत्यारा पत्ता लगाउनका लागि अहिले पनि निर्मला पन्तको बलात्कारपछि हत्याबारे अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी भन्छन्, ‘अहिले पनि ९ जना सम्मिलित सिआईबीको एउटा डेडिकेटेड टोलीले सूक्ष्म अनुसन्धान जारी राखेको छ। त्यसबाहेक हाम्रा अन्य टोली पनि सक्रिय छन्। तर कसैले हामी कहाँ आएर अपराध स्वयंम स्वीकार गरे पनि डिएनएले त्यसलाई पुष्टि नगरेसम्म त अनुसन्धानले पूर्णता पाउँदैन।’ चौधरीले अहिले पनि थप तीन जनाको डिएनए परीक्षणका लागि नमुना पठाइएको बताए। ‘हामीले हालसम्म यो घटनामा १०७ जनाको डिएनए परीक्षण गरिसकेका छौँ। थप तीन जनाको परीक्षणका लागि पठाइएका छौं। त्यो लगाएर ११० जना डिएनए परीक्षणको दायरामा र ६३५ जनालाई सोधपुछ गरिसकेका छौं,’ उनले भने। प्रहरीले अहिले पहिला भन्दा छुट्टै तरिकाले पनि अनुसन्धान गरिरहेको उनको दाबी छ। लागू औषध दुर्व्यसनकर्ताले घटना घटाएको जस्तो देखिएकाले अहिले अनुसन्धान तीनमा बढी केन्द्रित भएको उनले बताए।


