कैलाली। सरकारले प्रमाणीकरण भएका मुक्त हलिया परिवारमध्ये १ हजार बढीको पुनःस्थापना प्याकेज छुटाउँदा तथ्यांकमै नक्कली हलिया समाबेश गरिएको पाइएको छ । सुदूरपश्चिमका जिल्लामा प्रमाणीकरण भएका १२ हजार २७ मुक्त हलिया परिवारमध्ये १ हजार ५५ परिवारलाई सरकारले पुनःस्थापना प्याकेजबाटै छुटाएको र सूचीकृत तथा प्रमाणीकरणमा नसमेटिएको पाइएको हो ।
बझाङको साविक मालुमेला गाविसमा पर्ने सिरेटा गाउँमा एक सय १८ परिवार हलिया छन् । जसलाई राज्यले हलियाका रूपमा अहिले पनि चिन्दैन । तर, त्यही वडाका ७९ परिवार मुक्त हलियामा सूचीकृत छन्, जसलाई राज्यले विभिन्न चरणमा पुनर्पुष्टि गर्दै प्रमाणीकरणसमेत गरिसकेको छ । उनीहरू कसैको भौतिक अस्तित्व भेटिन्छ न त उनीहरू कसैले वडामा कहिल्यै बसोवास गरेका थिए भन्ने दशीप्रमाण नै छ । यस्तै, थलारा गाउँपालिकामा ७९ जना हलियाको बसोबास रहेको तथ्यांक सरकारको प्रमाणीकरण सूचीमा छ । तर यस्तो नामथर भएका यहाँ कोही पनि भेटिँदैनन् । मालपोत कार्यालय बझाङका प्रमुख कृष्णबहादुर बोहराले नक्कली हुन् भन्ने प्रमाणित भइसकेका यी हलिया परिवारको नाम भने अझै प्रमाणित २ हजार ८ सय ४८ जना हलियाको सूचीमा रहेको बताए ।
यसले एकातिर सरकारले हालसम्म पनि यस्ता नक्कली हलियाको तथ्यांक आधिकारिक रूपमा प्रयोगमा ल्याइरहेको छ भने अर्कोतिर आफूलाई हलिया करार गराउन वास्तविक हलियाले गरिरहेको असफल संघर्षभित्रका दुःखको कहानी ज्युँकात्युँ रहेका छन्।हलिया पहिचान भएका सुदूरपश्चिमका नौ र कर्णालीका तीन गरी १२ वटै जिल्लामा मुक्तिको १४ वर्ष भइसक्दा पनि सयौंको संख्यामा हलियाकै जीवन बाँचिरहेका छन् । मुक्ति घोषणायता पटक–पटक आन्दोलन गरेपछि सरकारले हलिया पुनःस्थापनाको ढाँचा र कार्ययोजना ०७० स्वीकृत गर्दै कार्यक्रम सुरु गरेको थियो । हलिया पुनःस्थापनाका लागि सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै ०७४ चैत्र १४ मा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ‘उच्चस्तरीय हलिया पुनःस्थापना आयोग’ गठन गरी तीन वर्षभित्र मुक्त हलिया परिवारलाई पुनःस्थापना गर्न आदेश जारी गरेको थियो । सर्वोच्चले मुक्त हलिया परिवारलाई भूकम्प प्रतिरोधी घर, खेतीका लागि उर्वर जग्गा, आयआर्जनका अवसरसमेत प्रबन्ध गर्न आदेश दिँदै जग्गाबाट उब्जनी नभएसम्म पोषणयुक्त खाद्यान्न, स्वास्थ्य सुरक्षा, सन्तानको शिक्षादीक्षाको प्रबन्धसमेत मिलाउन भनेको थियो । मुक्ति घोषणाको ५ वर्षपछि सरकारले सुरु गरेको प्याकेज पनि पहुँच र प्रभावका भरमा सञ्चालन भएको छ ।
अहिलेसम्म कुन वर्गका कति परिवार पुनःस्थापना प्याकेजमा समेटिए भन्ने तथ्यांक मुक्त हलियाको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्था मात्रै हैन, तालुक निकायका रूपमा रहेको संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि उपलब्ध नहुनुले देखाउँछ । ‘हालसम्म कुन वर्गका कति परिवार पुनःस्थापना प्याकेजमा समेटिए भन्ने यकिन तथ्यांक निकालेका छैनौं,’ मन्त्रालयका शाखा अधिकृत रेहमानसिंह रानाले भने । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा ०७८ मंसिरमा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेको स्थलगत अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिमका नौ जिल्लामा प्रमाणीकरण भएका १२ हजार २७ मुक्त हलिया परिवारमध्ये एक हजार ५५ परिवारलाई सरकारले पुनःस्थापना प्याकेजबाटै छुटाएको उल्लेख छ । १० हजार ९ सय ७२ परिवारलाई पुनःस्थापना प्याकेजअन्तर्गत राहत सहयोग उपलब्ध गराएको प्रतिवेदनमा छ । सरकारले ०७० देखि ०७६ सम्म सुदूरपश्चिमका नौ जिल्लासहित कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेतका गरी १२ हजार २ सय ३१ मुक्त हलिया परिवारले पुनःस्थापन प्याकेजको राहत सुविधा उपलब्ध गराएको छ । तीमध्ये २ हजार २ सय ३ परिवारको घर निर्माण, एक हजार ६ सय १ परिवारको जग्गा खरिद र ८ हजार ४ सय २७ परिवारको घरमर्मतका लागि सरकारले रकम उपलब्ध गराएको छ । मुक्त हलिया महासंघका अनुसार एक हजार १ सय ६१ परिवारलाई सरकारले पुनःस्थापनाको दोस्रो किस्ता रकम नै भुक्तानी गरेन ।
बाजुरामा एक हजार ४ सय ५७ परिवार प्रमाणीकरणमा समेटिएका पनि तीमध्ये ९८ परिवार पुनःस्थापनमा समेटिएनन् । बझाङमा २ हजार ६ सय २५ परिवारको प्रमाणीकरण भएको छ । तीमध्ये २ सय १७ परिवारलाई छुटाइएको छ । डडेलधुराका २ हजार ३ सय ६१ परिवारलाई प्रमाणीकरण गरिएको तथ्यांक छ । तीमध्ये ४ सय ८९ परिवारलाई छुटेका छन् । पुनःस्थापना प्याकेजमा समेटिएकामध्ये पनि ५५ परिवारले अझै दोस्रो किस्ता नपाएको हलिया महासंघले जनाएको छ । कञ्चनपुरमा १०६, बैतडीमा ३२, कैलालीमा ४६, डोटीमा ६७ परिवार प्रमाणीकरणमा परेर पनि पुनःस्थापनाको प्याकेजमा छुटाइएको सरकारी तथ्यांक छ । दार्चुला र अछाममा भने प्रमाणीकरणमा परेजति सबै समेटिएका छन् । पुनःस्थापना प्याकेजमा समेटिएकामध्ये डडेलधुरामा ५५, बाजुरामा २८, दार्चुलामा ७, कञ्चनपुरमा ६१९, बैतडीमा २२, कैलालीमा ५५ र डोटीका ३ सय ५१ परिवारले दोस्रो किस्ता रकम नपाएको हलिया महासंघले जनाएको छ ।सुदूरपश्चिमका नौवटै जिल्लामा क वर्गमा एक हजार ४ सय ३९ परिवार रहेकामा सुविधा भने एक हजार ९ सय ६९ ले बुझेको तथ्यांक छ । मन्त्रालयकै तथ्यांकअनुसार दार्चुलामा ३२, डडेलधुरामा ४ सय ८९, कञ्चनपुरमा १ सय ६, बझाङमा २ सय १७, बाजुरामा ९८, डोटीमा ६७ र कैलालीमा ४६ परिवारको पुनःस्थापना हुन बाँकी छ । उनीहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहलाई जिम्मा लगाइएको थियो । ०७० देखि ०७६ सम्म सञ्चालन भएको पुनःस्थापना कार्यक्रमका क्रममा बाजुरा, डडेलधुरा, बैतडी र डोटीमा आर्थिक चलखेलका अनेक घटना सार्वजनिक भए । बाजुरामा घुस रकम लिँदालिँदै कर्मचारी र मालपोतका कर्मचारीलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । डडेलधुरा र बैतडीमा आर्थिक चलखेलका घटना सार्वजनिक भएपछि संलग्न व्यक्तिबाट रकम फिर्ता नै गर्नेसम्म भएको थियो । डोटीमा कमिसनको बार्गेनिङ भएको अडियो सार्वजनिक भयो ।
जग्गा खरिदका क्रममा पनि आर्थिक चलखेल भएको अध्ययन समितिका सदस्य गणेश विकको भनाइ छ । कञ्चनपुरको शुक्लाफाँटामा २७ परिवार मुक्त हलियाका लागि घर निर्माण गर्न जिल्ला कार्यदलले खरिद गरिएको जमिनमा एउटै घर बनेनन् । किनिएको जग्गामा २७ घर बनाउन अपुग हुनेपछि घर नबनाएको स्थानीयले बताएका छन् । त्यो जग्गा अहिले पनि बाँझै छ । हलिया महासंघका अध्यक्षकै अगुवाइमा जानाजान उक्त जग्गा खरिद भएकाले आर्थिक चलखेल भएको हुन सक्ने अध्ययन समितिका सदस्यहरूले बताएका छन् । सरकारी र गैरसरकारी क्षेत्रबाट मुक्त हलियाका क्षेत्रमा अर्बौं लगानी भएको भए पनि कतिपय लगानीको प्रतिफलमा वास्तविक लेखाजोखा र परिणाममा अन्योल छ । मुक्त हलियाको लगत संकलन, वर्गीकरण, प्रमाणीकरण तथा परिचय वितरण र पुनःस्थापना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यक्रमको यकिन सरकारी खर्च विवरण एकत्रित छैन । ‘मन्त्रालयमा कुन वर्गका कति परिवार पुनःस्थापना प्याकेजमा समेटिए भन्ने यकिन तथ्यांक निकालेका छैनौं,’ मन्त्रालयका शाखा अधिकृत रेहमान सिंह राना भन्छन्, ‘कुन वर्ष कति रकम खर्च भयो भनेर सबै जिल्लाहरूमा बुझ्नुपर्ने हुन्छ ।’ पुनःस्थापना प्याकेजअन्तर्गत सरकारले हालसम्म सुविधा पाउनेको एकमुष्ट उपलब्ध गराएको विवरण हेर्ने हो भने कार्यक्रम ब्यवस्थापन तथा प्रशासनिक खर्च बाहेक पुनःस्थापनाका लागि मात्र आर्थिक वर्ष ०७०/७१ देखि ०७५/०७६ सम्ममा २ अर्ब ४० करोड ५५ लाख ६० हजार ५ सय खर्च भएको देखिन्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ मै पुनःस्थापनाका लागि पौने तीन अर्ब विनियोजन गरेको थियो । तर त्यो रकम खर्च हुन सकेन । पुनःस्थापना कार्यमा सुरुदेखि संलग्न रहेको राष्ट्रिय मुक्त हलिया समाज महासंघ धनगढीको तथ्यांकअनुसार पनि पुनःस्थापनाकार्यक्रममा कर्णालीका तीन जिल्लाबाहेक सुदूरपश्चिममा मात्रै २ अर्ब ४५ करोड बढी रकम मुक्त हलिया परिवारलाई गएको देखिन्छ ।कान्तीपुरबाट


