दार्चुला। नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त भएको छ । घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्याएको बताइएको छ । प्रहरी चौकी दल्लेखका प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालका अनुसार थलौनका कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर मंगलबार बिहान घरमा क्षति पुगेको हो ।
पहिरोका कारण धामीको परिवार विस्थापित बनेको बताइएको छ । अरु ४ जना छिमेकीको घर पनि पहिरोको जोखिममा परेको स्थानीयहरूले बताएका छन् ।स्थानीयहरूका अनुसार घरभन्दा २ सय मिटर माथिबाट पहिरो खसेको छ । यस्तै थलौनका स्थानीय ७ परिवारको करिब २० रोपनी जमिनमा लगाइएको मकै बाली पनि पहिरोले नष्ट गरेको स्थानीय प्रहरीले जनाएको छ ।

