कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको १२८औं कार्यपालिका बैठकले करार कर्मचारीमाथि छानबिन गर्ने निर्णय गरेको छ । नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा बिहीवार सम्पन्न बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले स्थायी कर्मचारी, ज्यालादारी र करारका कर्मचारीको सम्बन्धमा छानबिन तथा व्यवस्थापन गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । योजना शाखा प्रमुख विष्णु खरेलको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदलको सदस्यमा स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्ट, सदस्य सचिवमा महेश पाण्डेय छन् । कार्यदलले आवश्यकता, औचित्य लगायतको अध्ययन गरी १५ दिनभित्र कार्यपालिकामा प्रतिवेदन पेश गर्नेछ । बैठकले सामाजिक विकास अधिकृत, वातावरण अधिकृत र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राविधिक सहायक पदमा यसअघि गरिएका विज्ञापन रद्द गरी नयाँ विज्ञापन आह्वान गर्ने निर्णय गरेको छ । बैठकले कभाड कर, विज्ञापन कर, रोडशेष कर, पशुचौपाया निकासी पैठारी कर सम्बन्धी ठेक्का आह्वान गर्ने निर्णय पनि गरिएको छ।
२ र ९ नम्बर वडा कार्यालय भवन निर्माणमा म्याद थप गर्ने, ४ नम्बर वडाको ढाणादेखि असैनासम्म जाने कालोपत्रे सडकको म्याद थप गर्ने, १० नम्बर वडाको प्रगति टोलको कालोपत्रे योजनाको पनि म्याद थप गर्ने निर्णय गरिएको छ । नगर स्तरीय भूमि सहजीकरण समितिमा गणेश विक र भुमा चन्दलाई मनोनित गर्ने निर्णय समेत बैठकले गरेको छ । आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट परिमार्जनसहित टुंग्याउने र सभाबाट पारित गर्ने निर्णय समेत भएको छ ।


