कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। शुक्रबार साँझ जिल्लाको गौरीगंगा नगपालिका(११ शिवपुरस्थित भित्री सडकखण्डमा से ४ प ४९३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा चालक कैलारी गाउँपालिका-१ का २१ वर्षीय नैनबहादुर चौधरीको मोटरसाइकलले घर नजिककै सडकछेउमा खेलिरहेका ४ वर्षीय नितेश खातीलाई ठक्कर दिएको थियो।
ठक्करबाट नितेशसहित सो मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका-३ का ३१ वर्षीय जगदीश चौधरी घाइते भएका थिए। दुर्घटनामा घाईते मध्ये चालक कैलारी गाउँपालिका- १ का २१ वर्षीय नैनबहादुर चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो। नवजीवनबाट पनि कोहलपुर मेडिकल कलेज रिफर गरिएका उनको शनिबार बिहान मृत्यु भएको हो। नितेशको सौगात मेडिकल बडैपुरमा उपचार भइरहेको र जगदीशको साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


