धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष २०७९/८० का लागि पेश गरेको बजेट अन्तत: पारित भएको छ ।सत्तारुढ दलबीच नै समस्या रहेकोले बजेट बारे प्रदेश सभामा छलफल नै नभएको भनिएको बेला बुधबार एकै दिन बजेटमाथि छलफल भएर बुधबारै पारित भएको छ। प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए ।
बजेटबारे बुधबार लामो छलफल भएको थियो । छलफलपछि दोस्रो पटक राति ८ :४५ बजे बसेको बैठकले ९: ९ मिनेटमा बजेट पारित गरेको हो। बजेट पारित भएपछि मन्त्रीहरुले एकअर्काको अनुहारमा हेरेर खुसी साटेका थिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठकमा चल्न सकेको थिएन ।
बुधबार प्रदेश सरकारले एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक बस्यो, जहाँ प्रदेशसभा सदस्यहरूले बजेटमाथि छलफल गरेका थिए । प्रदेशसभा सदस्यहरुले बजेट संशोधन गर्नुपर्ने भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए । जवाफमा आर्थिक मामिलामन्त्री रावलले बजेटमा भएका कमीकजोरी सच्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।


