धनगढी।काठमाडौँबाट धनगढीका लागि उडेको जहाजभित्रै एक जना यात्रुले चुरोट तानेपछि हंगामा मच्चीएको छ। आज बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्। धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका थिए। जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठगुन्नाले बताइन्।उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो।
यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेपछि हंगामा भएको ठगुन्नाले बताइन्। जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने कैलालीको टीकापुर घर भएका नारायण उपाध्यायलाई नियन्त्रणमा लिइएको छ। बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।उनलाई धनगढी विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएको हो। अब उपाध्यायलाई जिल्ला प्रहरीलाई बुझाउने तयारी थालिएको धनगढी विमानस्थल प्रशासनले बताएको छ।जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । यात्रुबाट भएको गम्भीर लापरबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम हुन्छ ।


