कैलाली। यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकालागि सुदूरपश्चिमममा प्रचार–प्रसारको शैली विगतका चुनावमा भन्दा फरक ढङ्गको देखिएको छ ।
यस पटक निर्वाचनमा प्रचारप्रसारको शैली विगतको भन्दा फरक देखिँदै छ । चर्को माइकिङ र गाउँ शहरमा असरल्ल देखिने पोस्टर अहिले कतै देखिएका छैनन्। विगतका चुनावहरूमा जस्तो भद्दा प्रचारप्रसार भने यसपटक रोकिएको अनुभूति सुदूरपश्चिममवासीले गरेका छन् । सूचना प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ ।
विगतका चुनावहरूमा यतिबेला कैलालीको धनगढीबजार लगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पाटी पौवादेखि सडकका भित्ता र पुलहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे । यसपटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण सदरमुकाम र गाउँका सार्वजनिक स्थल, चौतारी र पर्खालहरु कुरुप हुन पाएका छैनन् । मनोनयन दर्तासँगै प्रचार सामग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावहरूमा जस्तो भ्याइनभ्याईको अवस्था भने नरहेको छापाखाना तथा अफसेट प्रेसका व्यापारीहरू बताउँछन् ।
‘हात–हातमा मोबाइल हुनेहरूको इन्टरनेटमा बढेको पहुँचका कारण चुनावी प्रचार–प्रसारमा सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ’, स्थानीय पत्रकार टेकराज जोशी भन्छन्– ‘विगतका चुनावमा सामाजिक सञ्जलको प्रयोग निकै न्यून रूपमा भएको थियो ।’ ह्वाट्सएप र भाइबरमा पब्लिक ग्रुप बनाएको छ भने पार्टीको फेसबुक, ट्विटर अकाउन्टमा नियमित गतिविधि अपडेट गर्नुका साथै चुनावी एजेन्डा समावेश छन् । चुनावकेन्द्रित लोकदेखि र्यापसम्मका गीत पनि सार्वजनिक, फेसबुक लाइभ, अन्तरर्वार्ता बढेका छन् । चुनावी प्रचारका क्रममा विगतका चुनावका बेला व्यापक रूपमा हुने भित्तेलेखन, पम्ल्पेटिङ, माइकिङजस्ता प्रचारका शैली भने रोकिएका छन् ।निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्यासी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । दलका र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रम गरी मतदातालाई रिझाउने कसरत गरिरहेका छन् ।
घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मत मागिरहँदा रोचक बन्ने गरेको स्थानीय तेजराज उप्रेतीले बताए।चुनावी प्रचारका लागि सामाजिक सञ्जाल सहज त बनेको छ । तर, यसले चुनौती पनि थपिएको छ । सामाजिक सञ्जाल विशेषगरी फेसबुक र ट्विटरमा चुनावसम्बन्धी मिथ्या र भ्रामक सूचना सम्प्रेषण हुन थालेका हुन् । निर्वाचन आयोगले १८ वैशाखमा विज्ञप्ति जारी गर्दै ‘उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको र त्यस्ता गलत सामग्री पोस्ट हुँदा निर्वाचन स्वच्छतामा असर पर्ने भएकाले कारबाही गर्ने’ चेतावनी दिएको थियो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार कारबाही हुने भन्दै सतर्क गराएको थियो ।
पाँच दलीय गठबन्धन मध्येको नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्तरुपमा उम्मेदवार खडा गरी चुनाव प्रचारप्रसार गरिरहेका छन्। नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रले मनोनयन दर्ता गरेदेखि नै चुनावी अभियान थालेका छन् भने राप्रपा, अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह प्राप्त भएपछि चुनावी अभियान गरीरहेका छन् । कैलालीका केही स्थानीय तह र वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेपछि नेपाली काङ्ग्रेस र एमालेलाई मत काटिने भय छ । सुदूरपश्चिममा ९ वटा जिल्ला र ८८ वटा स्थानीय तह छन्। ‘मतदानस्थल ११ सय ३७ र मतदान केन्द्र २१ सय तीन छन्। स्थानीय तह निर्वाचन विस्तृत सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा ६ हजार बढी नेपाल प्रहरी, १० हजार एक सय ६१ म्यादी, प्रत्येक गाउँपालिकामा २ वटा मोबाईल र प्रत्येक जिल्ला प्रहरी कार्यालयमा दुई वटा रिजव टोलीको व्यवस्था गरिएको छ।’ सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि वैशाख ३० मा निर्वाचन हुनेछ। त्यसका लागि प्रदेशका झण्डै साढे १६ लाखले मतदान गर्नेछन्।