कैलाली। जिल्ला सुरक्षा समिति कैलालीको टोलीले जिल्लाका बिभिन्न मतदान स्थल तथा मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको छ। जिल्ला सुरक्षा समितिको टोलीले (आज)आईतबार कैलालीको मोहन्याल र लम्कीचुहाका बिभिन्न मतदान स्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको हो।
जिल्लाका सुरक्षा निकायका प्रमुख सम्मिलित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले मतदान स्थलमा सुरक्षा संबेदनशिलता, निर्बाचनको समयमा अपनाउनु पर्ने सुरक्षा निति, मतदाता, उम्मेदार र मतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन गरेको जनाइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा रहेका मतदान स्थललाई सुरक्षाको दृष्टीकोणले कतिको संबेदनशिल छन । कुन मतदान स्थलमा कति सुरक्षाकर्मि परिचालन गर्ने भन्ने बिषयमा अनुगमन भईरहेको जानकारी दिए । उनले जिल्लाको सबैभन्दा सुरक्षा संबेदनशिल र जटीलता मोहन्याल गाउँपालिकामा रहेको र मतदान पछि मतपेटीका समयमै संकलन गर्न सोल्टामा हेलिकप्टर ल्याण्ड गर्नकोलागि समेत अध्ययन तथा अनुगमन गरीएको बताए।
अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले शान्तिसुरक्षा सामान्य रहेको बताए। निर्बाचनलाई शान्तिपुर्बक र भयरहित बनाउन एकिकृत सुरक्षा बनाएर लागेको जानकारी दिए । जिल्ला निर्बाचन कार्यालय कैलालीका प्रमुख निर्बाचन अधिकृत प्रेमराज भट्टले आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानियतहको निर्बाचनलाई भयरहित र मर्यादित रुपमा सम्पन्न गर्न आफुहरुलागि रहेको जानकारी दिएका छन् ।
कैलालीका १३ वटै स्थानिय तहमा मतदान स्थल र मतदान केन्द्र तोक्ने, जिल्ला स्थीत सुरक्षा समितिले निरक्षण गर्ने, सुरक्षाको हिसाबले सामान्य, संबेदनशिल र अतिसंबेदन शिलका रुपमा बर्गिकरण गर्ने, सबै पालिकामा प्रमुख निर्बाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने, कर्मचारीको खटनपटन र तालिम तथा अभिमुखिकरण दिनेकाम भईरहेको प्रमुख निर्बाचन अधिकृत भट्टले बताए। ५ लाख २५ हजार १२५ जना मतदाता संख्या रहेको कैलाली जिल्लामा २ सय ३६ मतदान स्थल र ६ सय १९ मतदान केन्द्र निर्धारण गरीएको छ ।
जसमा अतिसंबेदन शिलमा ५२, संबेदनशिल ५३ र १ सय ३१ सामान्य मतदान स्थलमा बर्गिकरण गरीएको छ । स्थलगत निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी, सेनानी दिनेश थापा, जिल्ला निर्बाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्ट, राष्ट्रीय अनुसंधान बिभागका रमेशसिंह डांगा, शसस्त्र प्रहरीका शसस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंह, जिल्ला प्रशासन कार्यालयका प्रसाशकिय अधिकृत शिवराज जोशी, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी लगायतकाको टोलीले मतदान स्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको जनाइएको छ।



