धनगढी। धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा हिमालयन शेर्पा क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै सिमराको जनजागृति युवा क्लवलाई चार शुन्यले पराजित गर्दै शेर्पाले अन्तिम आठमा स्थान बनायो । धनगढी रंगशालामा भएको खेलमा शेर्पाको जितमा उलरिच सिवेले दुई गोल गरे भने बिकाश मिराग्लियाले र पुर्ण बहादुर गुरुङले एक एक गोल गरे।खेलको सुरुवाती आधा घण्टा गोलरहित बराबरीमा रोकिएको शेर्पाले खेलको ३१ औं मिनेटमा अग्रता बनायो ।
उसका लागि विकाश मिराग्लियाले गोल गर्दैै टिमलाई अग्रता दिलाए । उनले जिवनको पासमा भलि सटमार्फत उत्कृष्ट फिनिस गरे । खेलको ४३ औं मिनेटमा शेर्पाले खेल दुई शुन्यमा पुर्यायो । उसका लागि विदेशी खेलाडी उलरिच सिवेले गोल गर्न सफल भए । जसका कारण पहिलो हाफमा हिमालयन शेर्पाले दुई शुन्यको अग्रता बनायो । ५७ औं मिनेटमा विकाश मिराग्लियालाई फल गरेपछि पाएको फ्रिकिकमा उलरिचले नै उत्कृष्त गोल गर्दै टिमलाई तीन शुन्यले अगाडी राखे ।
उनले गरेको फ्रिकिक सोझै गोलमा परिणत हुँदा जन जागृति युवा क्लवका गोलकिपरले बचाउन सकेनन् । पुरै खेलमा जनजागृतिलाई दबावमा राखेको शेर्पाले खेलको ८१ औं मिनेटमा खेल चार शुन्यमा पुर्यायो । उसका लागि पुर्ण बहादुर गुरुङले गोल गरे । सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका पुर्णले उत्कृष्ट गोल गर्न सफल भए । यो जितसँगै शेर्पाले क्वाटरफाइनलमा घरेलु टिम सुदुरपश्चिम ११ सँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा भोली अफ्रिकी टिम एभेनिर फुटबल क्लव र फ्रेन्ड्स क्लवविच प्रतिस्पर्धा हुनेछ ।

