कञ्चनपुर। वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरका युवकको दलालहरूले बेपत्ता पारेको आरोप लगाएका छन्। कृष्णपुर–२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी ५ दिनदेखि सम्पर्कविहीन छन् । टर्की र ग्रीस सीमामा पुर्याएर दलालहरूले बेपत्ता पारेको शंका परिवारले गरेको छ।
टर्कीमा रोजगारी नपाएपछि दलालहरूले उनलाई थप पैसा तिरेर ग्रीस पुर्याउने भनेका थिए। त्यहीअनुसार आफन्तले थप रकम पनि पठाएका थिए। तर, अवस्थीले अन्तिम अवस्थामा घर फर्किन चाहेका कारण उनलाई बेपत्ता पारेको वा हत्या गरेको हुन सक्ने परिवारले दाबी गरेको छ। ‘नक्कली कम्पनी खडा गरेर टर्की पुर्याए, त्यहाँ काम नपाएपछि थप पैसा लिएर ग्रीस लैजान खोजेका थिए,’ अवस्थीका भाइ हेमराजले भने, ‘अन्तिम अवस्थामा दाइले घर फर्किन खोज्दा दलालले मार्ने धम्की पनि दिएको सुनाएका थिए।’
उनका अनुसार अवस्थीलाई काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल नामक मेनपावर कम्पनीले टर्की पठाएको हो। वानिस म्यानलिंक अर्गनाइजेसन नामक नक्कली कम्पनी खडा गरेर व्यक्तिगत रूपमा श्रम सम्झौता गरेर टर्की पठाइएको थियो। अवस्थी ७ लाख खर्चेर गत असोज २१ मा टर्की उडेका थिए। त्यहाँ पुगेर उनले सम्झौतामा उल्लेख भएको कम्पनी नभेटिएपछि नक्कली भएको थाहा पाएका हुन्। दुई महिना बिनाकाम टर्कीमै बसेपछि ग्रीस लैजाने दलाल भेटेर घरमा खबर गरेका थिए । त्यहीअनुसार उनले नेपाली प्रतिनिधि दुधराज घलालको सानिमा बैंकको खातामा २ लाख ७२ हजार रकमसमेत पठाएका थिए।
टर्की पुगेका युवक सम्पर्कविहीन
धेरै दिनसम्म ग्रीस छिराउन आनाकानी गरेपछि दाजुले घर फर्किने योजना बनाए पनि सँगै रहेका रेबन खड्काले मार्ने धम्की दिएको भाइ हेमराजले बताए । त्यसपछि उनले विनोद कुँवर नामका व्यक्तिलाई भेटेका थिए । उनले ग्रीस पुर्याइदिने भन्दै लगे पनि टर्की र ग्रीसको सीमामा पुग्दा ग्रीस प्रहरीले लखेटेपछि अवस्थीलाई छाडेर अरूलाई गाडीमा हालेर भागेको दाजुका साथीहरूले सुनाएको हेमराजले बताए । टर्कीको इस्तानबुलबाट ७ जना आप्रवासीलाई लगेर ग्रीस सीमासम्म पुर्याइएको थियो। ‘दाइलाई पूर्वयोजनाअनुसार नै बेपत्ता पारेको वा मारेको पनि हुन सक्छ,’ हेमराजले भने, ‘नत्र अरू सबैलाई गाडीमा हालेर ल्याउने उनका लागि मात्रै ठाउँ नहुने हुन्छ ?’ दिव्यदेवले आफूलाई मार्ने धम्की आएको र केही भइहाले रेबनलाई सम्पर्क गर्नु भनेर नम्बरसमेत म्यासेन्जरमा छाडेका थिए । त्यहीअनुसार हेमराजले पछिल्लो पटक रेबनसँग पटकपटक सम्पर्क गरिरहेका छन्। गत मंगलबारसम्म परिवारको सम्पर्कमा रहेका दिव्यदेव त्यसयता सम्पर्कविहीन छन् । अवस्थी परिवार बैतडीको सूर्नयाबाट २०६१ मा कञ्चनपुरको कृष्णपुर बसाइँ आएका हुन् । ७ लाखभन्दा बढी ऋण काढेर टर्की पुगेका दिव्यदेव लागेको खर्च फर्काउने आसमा ज्यान जोखिममा हालेर ग्रीस छिर्न खोजेका थिए । ग्रीस हिँडेकै दिनदेखि उनी सम्पर्कविहीन भएका हुन् ।


