कञ्चनपुर। वैदेशिक रोजगारीकालागि टर्की पुगेका कञ्चनपुरका एक युवक चार दिनदेखि सम्पर्कविहीन छन् । कृष्णपुर–२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवार निकै चिन्तामा छन् ।
इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका भिनाजु वीरेन्द्रराज जोशीले बताए । संँगैका केही आप्रवासी कामदार इस्तानबुल नै फर्के पनि उनीसहितका अरु केही फर्केका छैनन् ।
‘सँगै भएका साथीहरूले फोन गरेर उनी हिमपातमा परेको भनेका छन्,’ जोशीले भने, ‘हामीहरू फर्कियौं, ऊचाहिँ सम्पर्कविहीन छ भनेका छन् ।’अवस्थी दसैं अगाडि काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट टर्की गएका हुन् । त्यसयता नियमित रूपमा परिवारसँग सम्पर्क भइरहे पनि मंगलबारदेखि कुरा हुन नसकेको जोशीले बताए ।
टर्की(ग्रीस सीमामा चिसोले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु- टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार टर्की र ग्रीसको सीमा इप्सालामा चिसोले कठ्यांग्रिएर आप्रवासीको मृत्यु भएको हो। मन्त्री सोयुलुका अनुसार अहिलेसम्म मृतकहरु कुन देशका हुन् भन्ने खुल्न सकेको छैन । बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन्। कतिपय आप्रवासी जुत्तारचप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको पाइन्छ । ग्रीसको सीमा बलले २२ जनाको आप्रवासीहरूको समूहविरुद्ध ठगले झैं काम गरेको मन्त्री सोयुलुको भनाइ छ । मृत्यु हुनेहरू त्यही २२ जनाको समूहका व्यक्ति भएको उनले जानकारी दिएका छन् । उनले युरोपेली युनियनले पनि मानवीय व्यवहार नदेखाएको आरोप लगाएका छन् । ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको बताएको छ । ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दु:खद हो । उनीहरू ग्रीस छिर्न खोजेका थिएनन् ।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन् । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको वास्तविक तस्बिरु उजागर गर्ने बताएका छन् ।
इप्साला ग्रीसको सीमानजिकै रहेको सहर हो, जुन अवैधानिक रूपमा युरोप प्रवेश गर्न चाहनेहरूको रुट पनि हो । पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ । ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो । पछिल्लो घटनामा नेपाली नागरिक परेरनपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए । सीमामा गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासी धेरै हुने भएकाले पहिचान खुल्न कठिन भएको हो, राजदूत अधिकारीले भने, हाम्रो नागरिक परेको/नपरेकोबारे हामीले बुझिरहेका छौं । टर्कीस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग हामी सम्पर्कमा छौं ।टर्कीको राजधानी इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले नेपाली नागरिक पनि परेको हुन सक्ने बताएका छन् । नेपाली तथा बंगली नागरिक उक्त घटनामा परेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन । नेपालबाट आफन्तले एक जना चार दिनदेखि टर्कीमा हराइरहेको भन्ने सन्देश पठाउनु भएको छ, उहाँको अवस्थाका बारेमा पनि हामीले बुझ्ने प्रयास गरिरहेका छौं, घिसिङले भने, उहाँ र अरु पनि कोही परेको छ कि भन्नेबारे हामीले यहाँका स्थानीयलाई नै सोधखोज गर्न घटनास्थलमा पठाएका छौँ ।

