कञ्चनपुर। महाकाली सिँचाइ आयोजनामा तेस्रो चरणको नहर निर्माण सुरु भएको डेढ दशकभन्दा बढी भइसक्यो । अहिलेसम्म १२.८ किमि मूल नहर मात्रै निर्माण भएको छ ।
आयोजनाको मुख्य समस्याका रूपमा रहेको टनकपुर बाँधदेखि नेपाल–भारत सीमासम्म मूल नहर निर्माणको काम सकिएको छ । भारतीय पक्षले नहर निर्माणको काम सकेर परीक्षणको तयारीसमेत गरेको छ । अहिलेसम्म भारतले आफ्नो भूभागतर्फ नहर निर्माण नगरे नेपालतर्फ मात्रै नहर बनाएर के गर्ने भन्ने प्रश्न उठ्ने गरेको थियो ।
अब भने टनकपुर बाँधबाट छाडिने पानी कहाँ उपयोग गर्ने भन्ने चिन्ता र चासो सुरु भएको छ । सबैभन्दा बढी समस्या सीमा क्षेत्रमै नेपालतर्फ २ सय २० मिटर नहर निर्माण हुन बाँकी छ । भारतले नहरमा पानी छाडे पनि यहीं रोकिने अवस्था छ । ‘अहिले परीक्षण गराएर पानी बन्द गराउनुको विकल्प छैन,’ महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले भने, ‘सबैभन्दा ठूलो कुरा भारतमा बनेको र हाम्रोतर्फ बनेको नहर जोड्न बाँकी छ ।
जसका कारण हामीले हाम्रोतर्फको नहरको परीक्षणसमेत गर्न सक्ने अवस्था छैन ।’ उक्त नहर निर्माणका लागि असारसम्मको अवधि तोकिएको उनले बताए । निर्माण कम्पनीलाई त्यसअगावै काम सक्न पनि दबाब दिइरहेको उनले जानकारी दिए । टनकपुर बाँधबाट पानी छाडे तत्काल खोलामा फाल्नुको विकल्प नरहेको आयोजनाका प्राविधिक बताउँछन् । अहिले ब्रह्मदेवदेखि मुसेपानीसम्म मूल नहर निर्माण भएकाले भारतले पानी पठाए मुसेपानी खोलामै छाड्नुपर्ने उनीहरूको भनाइ छ ।
एकीकृत महाकाली सन्धि भएको अढाई दशकपछि भारतले टनकपुर बाँधबाट नेपालतर्फ सिँचाइका लागि पानी दिने सम्झौताअनुसार नहर निर्माण गरेको हो । सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट सिँचाइका लागि १ हजार क्युसेक पानी पाउनेछ । ‘हाम्रोतर्फ प्रयोग नहुने भएपछि टनकपुर बाँधबाटै पानी ल्याइनेछैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘अहिले बनेको मूल नहरलाई जोड्न पनि दुईरतीन महिना लाग्छ ।’ मूल नहर निर्माणसँगै तत्काल २२ वटा शाखा नहर निर्माणका लागि पनि टेन्डर खोल्ने तयारी भइरहेको उनको भनाइ छ ।
दुई वर्षभित्र शाखा नहर निर्माण भएपछि मात्रै सिँचाइका लागि नहरमा पानी सञ्चालन गर्न सकिने उनले बताए । २२ वटा शाखा निर्माण भएपछि ५२ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । भारतीय क्षेत्रमा १२ सय मिटर नहर निर्माणको काम सकिएर नहरको उद्घाटनको तयारीसमेत गरिएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट नहर उद्घाटन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको भारत भ्रमण स्थगन भएपछि नहर उद्घाटनको कार्यक्रम पनि रोकिएको हो ।विगतमा टनकपुर बाँधबाट नेपालतर्फ सिँचाइका लागि पानी दिने टनकपुर जलाशयको सतहका विषयमा विवाद थियो । यही विवादका कारण पनि भारततर्फ नहर निर्माणमा ढिलाइ भएको हो ।
पछिल्लो समय दुवै देशबीच नेपालतर्फ २४४ दशमलव ५ मिटर उचाइमा पानी छाड्ने सहमतिपछि भारतीय भूभागमा नहर निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत हालसम्म १२ दशमलव ८ किमि मूल नहर निर्माण भएको छ । थप १५ किमि मूल नहर निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । १८ किमि मूल नहरमा २२ वटा शाखा निर्माण हुने आयोजना निर्देशक बमले बताए । १५ किमिभित्र तीनवटै प्याकेजको काम आधाभन्दा बढी भइसकेको छ । आयोजनाअन्तर्गत ब्रह्मदेवबाट कैलालीको माला खेती हुँदै कञ्चनपुरको पुनर्वाससम्म १ सय ५१ किमि नहर निर्माण गरिनेछ । उक्त नहरबाट करिब ३५ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि नहर निर्माणका लागि सर्भे सुरु भएको छ । महाकाली सन्धिअनुसार दोधारा चाँदनी क्षेत्रमा सिँचाइका लागि भारतले शारदा नहरबाट ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेछ । उक्त क्षेत्रमा पनि नेपाल–भारत सीमासम्म भारतीय क्षेत्रको नहर भारतले नै निर्माण गर्नुपर्ने प्रावधान छ । उक्त क्षेत्रमा १६ किलोमिटर मूल नहर निर्माण हुनेछ । यसबाट ३१ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।कान्तिपुरबाट


