कैलाली। कैलालीको धनगढीमा विगत २०६३ सालदेखि लाग्दै आएको सुदूरपश्चिम महोत्सव यस बर्ष लाग्ने भएको छ। दुई वर्षदेखि कोभिड-१९ को जोखिमका कारण लाग्न नसकेको सुदूरपश्चिम महोत्सव यसबर्ष लगाउन तयारी थालिएको जनाइएको छ।
प्रत्येक बर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने महोत्सव यसबर्ष पुस वा माघ महिनामा लगाउनको लागि स्थानीय प्रशासन, व्यवसायी र सरोकारवालाहरुसंग छलफल भइरहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।यसकालागि आयोजक कैलाली उद्योग वाणिज्य संघले तयारी समेत थालेको अध्यक्ष कुँवरले बताएका छन्।
आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले महोत्सवले यसवर्षदेखि निरन्तरता पाउने जानकारी दिएका छन्।महोत्सव लगाउनको लागी प्रशासन, पत्रकार, बुद्धिजीवी, व्यवसायी, स्वास्थ्यकर्मी, उद्योगकर्मी तथा विभिन्न पेसाकर्मीहरू बिच निरन्तर छलफल तथा अन्तरक्रियाको क्रममा पनि सकारात्मक सुझाव आइरहेको हुँदा महोत्सव लगाउने तयारीका साथ अगाडि बढेको अध्यक्ष कुँवरले भने। सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधिहरू शून्य भएको बेला यहाँको कला, संस्कृति, उद्योग, व्यवसायको प्रवद्यर्धनका निम्ति पनि सबै तहबाट महोत्सव लगाउन सकारात्मक सुझाव आइरहेको र सबै पार्टी हरूको महाधिवेशन लगायत पार्टीका विभिन्न कार्यक्रमहरू भइरहेको अवस्थामा महोत्सव मात्रै नलगाउने भन्ने कुरा नहुने भएकोले सुदूरपश्चिमको व्यवसायीक, सांस्कृतिक र आर्थिक पाटो सबल बनाउन स्वास्थ्यका मापदण्ड अपनाउँदै महोत्सव लगाउने आवश्यक तयारी भइरहेको कुँवरको भनाई छ।
उनले भने,महोत्सव लगाउन सबै सकारात्मक हुनुहुन्छ । यहाँका स्थानीय व्यवशायीक तथा आर्थिक गतिविधिहरू लाई पनि चलायमान बनाउन भए पनि महोत्सव लगाउन पर्छ भन्ने सबैको सुझाव रहेको छ । अहिले सबै पार्टीका महाधिवेशन विभिन्न पार्टीगत कार्यक्रम भइरहेका छन्। भने किन महोत्सव लगाउन नहुने रु त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै महोत्सव सञ्चालन हुने मिति चाँडै सार्वजनिक गछौं । यस्तै, कुँवरले महोत्सव नलाग्दा उद्योग वाणिज्य महासङ्घको मात्रै नभई समग्र सुदूरपश्चिम प्रदेश वासीले घाटा बेहोर्नु परेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सुदूरको पहिचान बनाउन सफल सुदूरपश्चिम महोत्सव लगाउन जरुरी रहेको बताए।
सुदूरपश्चिम महोत्सवको आयोजना भइरहँदा वास्तवमै सुदूर नेपाललाई चिनाउने एउटा आधार बनेको थियो । यद्धपी कोरोना महामारीले विगत दुई वर्ष देखी स्थगित भइरहँदा सुदूरपश्चिम वासीले कला, संस्कृति, स्थानीय उत्पादन, पर्यटन तथा व्यवसायीक रूपमा ठुलो क्षेती व्यहोर्नु परेको छ। त्यस्तै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले महोत्सव लगाउनका लागि अनौपचारिक रुपमा छलफल थालिएको जानकारी दिए। उनले देशका विभिन्न स्थानहरूमा अहिलेपनि महोत्सवहरू चलिरहेको बताउँदै आफूहरुले पनि महोत्सव लगाउने तयारी थालेको जानकारी दिए । कोभिड १९ को तेस्रो भेरिएन्ट समेत देखिएको भन्दै सरकारले मेला, महोत्सव, सभा, सम्मेलन नगर्न आग्रह गरेको भएपनि स्वास्थ्यका मापदण्ड अपनाई महोत्सव लगाउन आवश्यक रहेको यहाँका व्यवसायीहरु बताएका छन। महोत्सवले व्यवसायहरुलाई मात्रै नभई यहाँको कला, साहित्य र संस्कृतिलाई समेत टेवा पुर्याउदै आएको थियो ।


