धनगढी। कैलालीमा मतदाता नामावली सुरु हुने भएको छ । मंसिर १७ गतेदेखि सुरु हुने मतदाता नामावली संकलन कार्य आउने पुस १८ गतेसम्म सञ्चालन हुने भएको हो।
मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतेदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिएका छन्। कैलालीका १३ स्थानीय तहमध्ये १० वटामा अभियान थालिने भएको हो। पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटा गरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिनेछ।
तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट निरन्त्तर मतदाता नामावली भइरहेको निर्वाचन अधिकारी भट्टले जानकारी दिए। १७ गतेदेखि प्रदेश निर्वाचन कार्यालयबाट अन्य जिल्लाको मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेलाई पनि कार्यालयबाटै नामावली दर्ता गरिने उनले बताए। पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली हुने भएको छ। त्यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा हुनेछ।
धनगढी उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावली भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए। कैलालीमा अहिलेसम्म २ लाख ४२ हजार ६१२ पुरुष, २ लाख ५५ हजार ४७७ महिला र १० जना अन्य गरी ४ लाख १९ हजार ९९ मतदाता रहेका छन्। सोमबार धनगढीमा भएको अन्तरक्रिया कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आवश्यक रहेको भनेका छन् ।


