धनगढी: बजेट विवाद समाधान गर्न १ मंसिरभित्र पूरक बजेट ल्याउने निर्णय गरेको थियो, सुदूरपश्चिम सरकारले । पूरक बजेट ल्याउने र बजेटमाथि अध्ययन गर्न संसदीय समिति गठन गर्ने निर्णय प्रदेशसभा बैठकमै पनि सुनाइएको थियो । तर, दुवै निर्णय कार्यान्वयन नभएपछि मुख्यमन्त्री खगराज भट्टमाथि आफ्नै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै दबाब बढेको छ ।
प्रदेश सरकारले तीन महिनाको बजेट शून्यतापछि २५ असोजमा बजेट प्रस्तुत गरेको थियो । तर, बजेट निर्माणमा अनियमितता र त्रुटि भएको भन्दै सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि बजेट पारित हुनेमा अन्योल उत्पन्न भएको थियो । मुख्यमन्त्री भट्ट र आर्थिक मामिलामन्त्री चक्र मल्लले पनि बजेटमा त्रुटि स्वीकारेका छन् । त्यसपछि बजेटको अध्ययन गर्न संसदीय समिति गठन गर्ने, २० कात्तिकभित्र प्रतिवेदन तयार गर्ने र १ मंसिरभित्र पूरक बजेट ल्याउने निर्णय भयो । सोही निर्णयपछि सांसदहरू बजेट पारित गर्न सहमत भएका थिए । तर, सहमति कार्यान्वयन नहुँदा सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवाद झन् चर्किएको छ ।
नेकपाका असन्तुष्ट सांसदहरू मुख्यमन्त्रीको राजीनामा माग्दै उनलाई पदबाट हटाउने कसरतमा छन् । उनीहरूले मुख्यमन्त्री भट्ट र सभामुख भीमबहादुर भण्डारीलाई भेट्दै पूरक बजेटको निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका थिए । उनीहरूले उक्त निर्णय कार्यान्वयन नभए थप कदम चाल्ने चेतावनी दिएका थिए । ‘थप कदम भनेको के हो रु’ भन्ने प्रश्नमा नेकपाका एक सांसदल भने, ‘मुख्यमन्त्री भट्टलाई दल नेता र मुख्यमन्त्रीबाट नै हटाउने हो ।’ मुख्यमन्त्री भट्टलाई हटाउन असन्तुष्ट सांसदले हस्ताक्षर अभियान नै चलाएको चर्चा पनि छ ।
‘पूरक बजेटको निर्णय कार्यान्वयन भएन भने थप कदम त चाल्छौँ नै,’ उनले भने, ‘तर, केही दिनको लागि त्यो अभियान स्थगित गरेका छौँ । केन्द्रबाट पार्टी संयोजक र सह–संयोजकले मिलाउँछु भन्नुभएको छ ।’
बजेट विवादले नेकपाभित्र असन्तुष्टि चुलिएपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल सोमबार धनगढी आउने कार्यक्रम तय गरिएको छ । बजेट विवादको असर नेकपाको संगठनात्मक गतिविधिमा समेत परेपछि उनीहरू मिलाउनका लागि धनगढी आउन लागेका हुन् । पार्टीले १० मंसिरदेखि सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय जागरण अभियान सुदूरपश्चिममा अझै सुरु हुन सकेको छैन ।


