धनगढी । धनगढी-अत्तरिया ६ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासन कायम गराउने उद्देश्यले सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीको अगुवाइमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, ट्राफिक प्रहरी तथा सडक आसपासका सरोकारवाला संस्थाको सहकार्यमा सडक सुरक्षा सम्बन्धी सन्देशमूलक बोर्ड राख्ने कार्य सुरु गरिएको हो।
अभियानअन्तर्गत धनगढी-अत्तरिया ६ लेन सडकका विभिन्न स्थानमा सवारी चालक तथा सडक प्रयोगकर्तालाई लक्षित गरी सचेतनामूलक सन्देश बोर्ड राख्ने काम भइरहेको छ। यसमा नवजीवन अस्पताललगायत सडक आसपासका संस्थाले पनि सहकार्य गरेका छन्। कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख नवराज कार्की, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशमलाल आचार्यलगायतको उपस्थिति रहेको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दले सडक सुरक्षालाई प्रभावकारी बनाउन सवारी चालक, यातायात श्रमिक, व्यवसायी, नागरिक समाज तथा आम सर्वसाधारण सबैलाई जिम्मेवार र सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार धनगढी-अत्तरिया ६ लेन सडकमा अव्यवस्थित सवारी सञ्चालन, तीव्र गति, जथाभावी ओभरटेक, लेन अनुशासनको उल्लङ्घन तथा ट्राफिक नियमको बेवास्ताले दुर्घटनाको जोखिम बढाइरहेको छ। यस्ता गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीको निगरानीसँगै सबै सडक प्रयोगकर्ताको व्यवहारमा सुधार आउन आवश्यक रहेको उनले बताए।

अभियानले ६ लेन सडकमा तोकिएको लेनबाट सवारी चलाउने, निर्धारित गतिसीमा पालना गर्ने, अनावश्यक ओभरटेक नगर्ने, पैदलयात्रीको सुरक्षामा ध्यान दिने र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने संस्कार विकासमा जोड दिएको छ। सडक पूर्वाधार विस्तार हुँदैमा दुर्घटना न्यूनीकरण नहुने भन्दै अध्यक्ष चन्दले सडकको सुरक्षित र अनुशासित प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। सडक दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र चालकको मात्र नभई स्थानीय सरकार, यातायात व्यवसायी, श्रमिक, नागरिक समाज र सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको उनको भनाइ छ।
यातायात श्रमिकको हकहित, अधिकार र सामाजिक सुरक्षाका लागि क्रियाशील संगठनले सडक सुरक्षा र यात्रुको जीवन रक्षालाई पनि आफ्नो जिम्मेवारीका रूपमा अघि बढाएको चन्दले बताए। ‘लेन अनुशासनको पालना गरौँ, सडक दुर्घटना न्यूनीकरणमा हातेमालो गरौँ, आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानलाई निरन्तरता दिने संगठनले जनाएको छ।


