धनगढी: सुदूरपश्चिम महोत्सव २०८३ लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले विभिन्न सरोकारवाला निकाय, सामाजिक संघसंस्था तथा युवाहरूसँग छलफल तथा सुझाव संकलनलाई तीव्रता दिएको छ। यसै क्रममा धनगढी जेसीज, धनगढी जुनियर जेसीज, धनगढी लेडी जेसीज, जेसीजका पूर्व अध्यक्ष, धनगढीका विभिन्न लियो क्लब तथा उपेन सुदूरपश्चिमका पदाधिकारीहरूसँग महोत्सवको व्यवस्थापन, युवा सहभागिता र कार्यक्रमलाई थप आकर्षक बनाउने विषयमा छलफल गरिएको हो।
छलफलमा महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन युवा सहभागिता बढाउने, सामाजिक योगदानलाई प्राथमिकता दिने तथा स्थानीय कला, संस्कृति र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने विषयमा सुझाव प्राप्त भएका छन्। महोत्सवलाई मनोरञ्जन र व्यापारमा मात्र सीमित नराखी सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने साझा उत्सवका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
आयोजकले महोत्सवलाई सुदूरपश्चिमकै गौरवपूर्ण आयोजनाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। त्यसका लागि सामाजिक संस्था, युवा तथा विभिन्न सरोकारवाला निकायको सुझाव र सहकार्यलाई महत्वपूर्ण मानिएको छ। महोत्सवको तयारीसँगै सरोकारवालासँग भइरहेको निरन्तर छलफलले आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलताको प्रवर्द्धनमार्फत महोत्सवलाई सुदूरपश्चिमको पहिचान र सम्भावना प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने आयोजकको तयारी छ।


