धनगढी: सुर्खेतमा भईरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमको महिला बास्केटबल टोलीले ईतिहास रचेको छ । क्वाटरफाईनलमा लुम्बीनी प्रदेशलाई ३९–१६ स्कोरले हराउँदै सुदुरपश्चिम पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।
यसअघि सुदुरपश्चिमको महिला बास्केटबल टोली समुह विजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको थियो । पहिलो खेलमा बलियो बाग्मती प्रदेशलाई ३६–३३ अंकले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिमले दोश्रो खेलमा मधेस प्रदेशलाई ४७–३ को विशाल अन्तरले हराउँदै क्वाटरफाईनलमा स्थान पक्का गरेको थियो ।
सुदुरपश्चिमको महिला बास्केटबल टोलीले अहिलेसम्म कुनै पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सकेको छैन । पहिलो पटक सुदुरपश्चिम प्रदेशको महिला बास्केटबल टोलीले सुदुरपश्चिमलाई पहिलो पटक जिताउने पक्का भएको छ । महिला बास्केटल टोलीले ईतिहास रच्नुमा खेलाडीहरुको कडा मेहनत र परिश्रमको नतिजा रहेको नेपाल बास्केटबल संघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश उपाध्यक्ष लोकेन्द्र सिंहले बताए ।


