धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर आवश्यक ऐन तथा कानुन निर्माण गरिएको र बाँकी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको बताएका छन्। संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।
मुख्यमन्त्री भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका छन् भने केही आवश्यक ऐन निर्माण हुन बाँकी छन्। बाँकी कानुन निर्माणका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको उनले बताए।
प्रदेश सरकार स्थानीय तह तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले संविधानले व्यवस्था गरेको अधिकार क्षेत्रभित्र रहेर कानुन निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताए। उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।


