धनगढी । सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित छठ पर्वले धनगढीस्थित मोहना नदी किनारलाई उत्सवमय बनाएको छ। छठ पूजाका लागि मोहना घाट झकिझकाउ पारिएको छ। फूलमाला, आकर्षक सजावट र पूजाका लागि तयार पारिएका पण्डालले घाटको रौनक थप बढाएका छन्।
छठ पर्वको मुख्य आकर्षणका रूपमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। व्रतालुहरू पूजा सामग्री, फलफूल, उखु, केरा, नरिवल तथा घरमै तयार पारिएका विभिन्न परिकारसहित घाटमा पुग्ने तयारीमा छन्। सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गरिँदैछ।
धार्मिक विश्वासअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले आफ्नो अज्ञातवास सफलताको कामना गर्दै सूर्यदेवको आराधना गरेका थिए। सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेको उल्लेख रहेको धार्मिक मान्यता छ। यही विश्वाससँग जोडिएर छठ पर्व मनाउने परम्परा विकसित भएको मानिन्छ।
साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बसेर पूजा, छठी माताको कथा श्रवण तथा भजनकीर्तनमा सहभागी हुनेछन्। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्वको विधिवत् समापन हुनेछ।
छठ पूजामा उखु, केरा, नरिवललगायतका फलफूल र प्रसादको विशेष महत्त्व रहने गर्दछ। कुनै समय तराई–मधेसमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रसम्म विस्तार भएको छ। धार्मिक आस्था र सामाजिक सद्भावको पर्वका रूपमा विभिन्न समुदायका मानिसहरू छठ उत्सवमा सहभागी हुन थालेका छन्।
मोहना घाटमा यस वर्ष पूजासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। स्थानीय कलाकारका प्रस्तुति, नृत्य, धार्मिक कथा तथा मनोरञ्जनात्मक गतिविधिले छठको माहोल थप आकर्षक बनाउने आयोजकको तयारी छ।
छठ पूजा सेवा समितिका सचिव सरोजकुमार यादवका अनुसार यस वर्ष मोहना घाटमा एकदेखि डेढ लाखसम्म भक्तजन तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। त्यसका लागि घाटको सरसफाइ, सजावट र व्यवस्थापकीय तयारी पूरा गरिएको उनले बताए।
भक्तजनको सम्भावित भीडलाई मध्यनजर गर्दै सुरक्षाका लागि एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था मिलाइएको छ। साथै आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राखेर प्राथमिक उपचार केन्द्रसमेत स्थापना गरिएको समितिले जनाएको छ।


