धनगढी । बाजुराको साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोट पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि काम सुरु गर्ने गरी आयोजना अघि बढाएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार सडक डिभिजन कार्यालय साँफेबगर, अछाममार्फत आयोजना कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ। आयोजना हाल टेन्डर प्रक्रियामा रहेको र डिजाइन पुनरावलोकनपछि निर्माण प्रक्रिया अगाडि बढाइने उनले बताएका छन्।
अम्कोट क्षेत्रमा वर्षौंदेखि पहिरो र बूढीगंगा नदीको कटानका कारण सडक अवरुद्ध हुने समस्या रहँदै आएको छ। पहिरोले सडकसँगै खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ भने बूढीगंगा नगरपालिका–१ स्थित अम्कोट गाउँका बासिन्दासमेत जोखिममा छन्। २०७७ र २०७९ सालमा वर्षायाममा पहिरोका कारण उक्त सडकखण्ड चार महिनासम्म अवरुद्ध भएको थियो।
यसअघि २०७९ सालमा गरिएको अध्ययनले अम्कोट पहिरोको दीर्घकालीन समाधानका लागि करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो। अहिले ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ विनियोजन भएपछि स्थानीयवासीले पहिरो नियन्त्रण र सडक सुधार हुने अपेक्षा गरेका छन्।
स्थानीय बासिन्दा वसन्त थापाले लामो समयदेखि सडक सुधार र पहिरो व्यवस्थापनका लागि बजेट माग गर्दै आएको बताउँदै बजेट विनियोजन हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले बजेट विनियोजनमा मात्रै सीमित नभई निर्माण कार्य प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
साँफे–मार्तडी सडक बाजुराको सदरमुकाम मार्तडीलाई सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग हो। यही सडक हुँदै हुम्ला र मुगुका बासिन्दासमेत आवतजावत गर्ने भएकाले अम्कोट पहिरो नियन्त्रण र सडक सुधारले तीनै जिल्लाका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


