धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले दुई नेताको राजीनामा स्वीकृत गरेको छ । प्रदेश कमिटीको २१ गते बसेको सचिवालय बैठकले सचिवालय सदस्य धर्मराज पाठक र प्रदेश कमिटी सदस्य मातृका तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको हो ।
राजीनामा स्वीकृत भएका पाठक सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत हुन् । उनी प्रदेशसभाको सामाजिक विकास समिति सभापतिको जिम्मेवारीमा समेत थिए । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित हुने दिन पाठक सदनमा अनुपस्थित भएपछि एमाले संसदीय दलले उनलाई सामाजिक विकास समिति सभापतिको जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णयसमेत गरेको थियो ।
राजीनामा स्वीकृत भएका पाठक र तिमिल्सिना दुवै पूर्वपत्रकार हुन् ।


